Thursday, 10 November 2011

दिल्लीकट लाहुरे (कथा) राशि पाण्डे

दिल्लीकट लाहुरे (कथा)
राशि पाण्डे

(साभारः उत्साहः पूर्णाङ्क २९ वर्ष ८ श्रावण २०४३)

होटलमा खाना खाइरहेकी छु । एउटा लामो फल्याकमा दुईतिरबाट काठको किल्लाले अड््याएर टेबुल जस्तो बनाइएको छ । टुकीको मधुरो उज्यालामा मानिसका अनुहारहरू धूमिल देखिएका छन् । साझाको चामल ह्वास्स गन्हाउँछ । म नरुचाइ नरुचाइ पेटसम्म भर्ने जुक्ति गरिरहेकी हुन्छु । कोठाभरि सल्लाको धुवाँ, रक्सीको गन्ध र गफका चोक्टाहरू सगबगाइरहेका छन् ।
“म््याडम, यहाँ यस्तै चल्छ, पाइँदै पाइन्न, राम्रा चीजहरू । दिल्लीजस्तो दालफ्राई, किमा, कोर्मा कहाँ पाउनु ? साला एक भी होटल नहीं है दिल्ली जैसा” सँगैको टेबुलमा रक्सी पिइरहेको तिस बत्तिस बर्से युवक मप्रति सहानुभूति देखाउँदै, यहाँको अभावप्रति आक्रोश पोख्छ । अनि, आफू दिल्ली घुमेको, बम्बै घुमेको सेखी देखाउँछ । यहाँ सबैले उसलाई दिल्लीकट उपनाम दिएका रहेछन् ।
म सुन्दै नसुनेको जस्तो गरिदिन्छु । “ए गङवा, मिट लाओ” दिल्लीकट पसलेलाई अडर गर्छ ।
पसलेको नकारात्मक जवाफ पाएपछि ऊ फेरि बम्कन्छ, “कुखुरा काट । मासु खान्छु । मासु नभई हुन्न । हम नही खाएगा ।”
उसलाई रक्सी लागिसक्यो कि, रक्सी लागेको भानमात्र पारेको हो ? म छुट्ट्याउन खोज्दछु । मानिसहरू नसा लागेको निहुँ गरेर आफ्नो उग्रता देखाउने गर्छन्, आफ्नो हीनता पोख्ने गर्छन् । दिल्लीकटलाई नजानिँदो तरिकाले नियाल्छु । ऊ सानले एउटा सस्तो खाले सिगरेट तानिरहेको छ ।
हातको चुरोट छेउकै मानिसलाई थमाउँदै दिल्लीकट भन्न लाग्छ, “म सोर वर्ष तक दिल्ली बसें... क्या है दिल्ली ?.. यताबाट रेल हिँड्छ....बस, रिक्सा, ताँगा म््याम्, त्यहाँ दुई दुई तले बसहरू छन् .. हाम्रा घर जितना बसहरू .. म फेरि दिल्ली जान्छु ... यहाँ बस्तिनँ । क्या है ? इस पहाडी में ? जबसम्म रेल नहीं आएगा, मोटर नहीं चलेगा .. हम नहीं आएगा... नहीं आएगा” ऊ छाती ठोक्न लाग्छ ।
अब उसले बवाल मच्चाउने भो ? म छिटछिटै खाना रित्याउन लाग्छु ।
“गङ्गा, तुँ जाएगा दिल्ली... यु गो ?” दिल्लीकट गिलाँस पुरै रित्याउँछ ।
“थप, अझ थप .. नेपालका रक्सी मिठो है .. धेरै मिठो ........
खै कुखुरा ... ल्या ..ल्या कुखुरा ल्या । काट । कुखुरा काट । हम तो नहीं खाएगा, वैसे” ऊ, बरबराउन लाग्छ ।
... “म््याम्, हजुर त धेरै देश घुमिबक्सेको होला ?” उसका गफमा सँगी बनाउने कोसिस गर्छ दिल्लीकट मलाई पनि । दिल्ली घुमेको, बम्बैको, चन्डीगढका थुप्रै थुप्रै अनुभवहरू, त्यहाँको झिलीमिली बखान गर्न लाग्छ ऊ ।
दुई, तिन जना केटाहरू बडो ध्यान मग्न भै दिल्लीकटको कुरा सुनिरहेका हुन्छन्, खुबै चाख लिएर । ऊ एउटा पढेलेखे जस्तो केटालाई आफ्नो छातीमा लेखिएको अक्षरहरूतिर औल्याउँदै अर्थ लगाउन भन्छ, “द्यन्ःल्” केटाहरू अथ्र्याउन सक्दैनन् । ऊ यहाँको शिक्षा पद्धति तथा आजका विद्यार्थीहरूको न्यून बुद्धिबारे लामो भाषण दिन सुरु गर्छ ।
म सोच्न लाग्छु । यी दिल्लीकट, बम्बैकट लाहुरेहरूको गफ सुनेर यिनीहरूको फुर्तीफार्ती देखेर, यी अपरिपक्व सोझा मस्तिष्कहरू खज्मजिँदा हुन् । बिदामा आउने लाहुरेहरूको पनि आफ्नै रबाफ हुने गर्दछ । उनीहरू आर्मी ड्रेसमै आउने गर्दछन् तिनीहरू बिदामा पनि बाहुलामा टाँसिएको पित्तले अक्षर सानले टल्काउँदै, ढल्काउँदै । उनीहरूको सान, रबाफ गाउँभरि व्याप्त हुन्छ । सोझा लाटा गाउँलेहरूले पनि आफ्नो छोरालाई त्यस्तै बनाउन चाहन्छन् । चाहे विदेशमा उनीहरू जुठो प्लेट उठाउने कान्छा हुन्, चाहे आफ्नो रगत, स्वाभिमान बेच्ने सिपाही तर लाहुरेको बडप्पनमा कुनै कमी हुनुहुन्न ।
त्यो सानो होटलमा उसको व्यक्तित्व अटेसमटेस गरी भरिएको छ । म उठ्ने क्रम गर्दै– ऊ के काम गर्दो हो ? सोच्न लाग्छु । दिल्लीकट पनि लरखराउदै उठ्न लाग्छ ।
“म््याम््का बिल हम पे करेगा ..... म््याडम, यहाँको महिला विकास अधिकिरत होइन ? हमारा गेस्ट .... हम देगा ...।” दिल्लीकट खल्तीमा हात हाल्छ । यो पकेटमा । त्यो पकेटमा जम्मा दुई रुपियाँ र केही फुटकर पैसा । मलाई उसको अवस्थामा भित्रभित्रै हाँसो उठ्छ ।
“म््याड्म, हमारा पाहुना ....हमारा गेस्ट” दिल्लीकट पैसा थमाउन एक कदम पसलेतिर बढउँछ ।
“म््याम्को सय ?” पसले आफूतिर बढाएको पैसामा आँखा गाड्दै भन्छ ।
“ले रख, रखो... हम देगा.....।” दिल्लीकट बलजफ्ती पसलेलाई पैसा थमाउने प्रयास गर्छ । यही प्रयासमा ऊ ढुन्मुनिन पुग्छ, रक्सीको रित्तो बोत्तल झैँ । सिल्भरका केही ढ्याकरू नालीमा पुग्छन् । ऊ भ्यागुतो झैँ पछारिन्छ । चियापत्ती फालेको फोहर टिनमा उसको टाउको जोतिन्छ । ऊ माटो चाट्न लाग्छ । आफ्नो देशको, आफू जन्मिएको, हुर्किएको र आफू खेलेको माटो । केटाहरू खितखित हाँस्न लाग्छन् । ऊ अचेत भएको स्वाङ पार्छ । म छिटछिटो पैसा तिरेर डेरातिर लम्किन्छु .......

निकाह (कथा) राशि पाण्डे

निकाह (कथा)
राशि पाण्डे
(साभारः “निकाह” गरिमा, वर्ष २९, अङ्क ४, पूर्णाङ्क ३४०, चैत २०६७ )

अब्व्दुल अस्पताल भर्ना भएकोे थियो । रजिया दुई महिनादेखि दिनरात उसको सेवामा खटिरहेकी थिई । आफ्नो जिल्लामा उपचार हुन नसकेपछि ऊ राजधानीको यस सुविधासम्पत्र अस्पतालमा थप उपचारका लागि आएको थियो ।
बिरामीको हेरबिचार गर्न उसकी औरत१ रजिया पनि सँगै आएकीले केही महगो भए तापनि क्याविन मै बस्ने निधो गरेको थियो अब्दुलले । बिरानो ठाउँ, आफ्नो जात, विरादरी२को कोही चिनेका मानिसहरू थिएनन् । डाक्टरसँग सल्लाह गर्ने, औषधि कित्रे, एक्स–रे गराउने, रिपोर्ट ल्याउने अनि रातभरि जागेर बिरामी रुँग्ने सबै काम रजिया आफैँ गर्दथी । ऊ दिनरात केही नभनी लोग्नेको स्याहारसुसारमा तल्लिन थिई । राजधानी बसेर पढ्ने, व्यापार गर्ने वा जागिर खाने गाउँतिरका मानिसहरू पनि कहिलेकाहीँ सञ्चोबिसन्चो सोध्न आउँने गर्दथे ।
रजिया लोग्नेको गोडानिर बसेर पैताला सुम्सुमाई रहेकी थिर्ई, कतिबेला आँखा झिमिक्क भएछ हाँेसै पाइन । जब ऊ झल्याँस्स भई । आँखा खुल्दा ओच्छानभरि, कपडामा, अब्दुलको जीउभरि रगतैरगत थियो । ऊ आत्तिएर रुन थाली । नर्सहरू दौडिएर आए, ड््युटिको डाक्टरलाई पनि बोलाइयो ।
बिरामी निदाएको बेला छटपटाएर, सलाइन् दिएको निडल थुतिएर रगत बगेको रहेछ, “आत्तिनु पर्दैन, केही हुत्र” नर्स र डाक्टरले आश्वासन दिँदा पनि रजियाको आँसु थामिएन् । ऊ आफूलाई धिक्कार्न थाली, कोस्न३ लागी । आफूबाट भएको गल्तीका लागि अल्लाह४सँग माफी मागी, घुँडा टेकेर धरतीलाई ढोक्दै आफ्नो गल्तीमा पश्चात्ताप गरी । अनि मक्काको काबा५तर्फ मुख फर्काएर कलमा६ पढ्न, प्रार्थना गर्न थाली –ला इलाही इल्लिल्लाहो, मोहम्मदुर रसुलल्लुह७ । उसले अब्दुललाई चाँडै बिसेक गरिदिन अल्लाहसँग दुआ८ मागी ।
रजियाको आलापविलाप सुनेर अब्दुलका पनि आँखा रसाए । उसले आँखाभरि आँसु गरेर सम्झाउने कोसिस ग¥यो – अर्रहमनिर रहिम९ ! नरोऊ, तिम्रो गल्तीले गर्दा यसो भएको होइन, म आफैले बिराएर हो । सलाइन दिएको ठाउँबाट अलिकति रगत मात्र बगेको छ, यति रगत बगेर केही हुत्र । आफ्नो सानो गल्तीले बिरामीको शरीरबाट त्यति रगत बग्यो, रजियाको रुवाई रोकिदैँ रोकिएको थिएन ।
अब्दुलले रजिया तिर हे¥यो– ऊ धेरै दिनको अनिदोले बिरामीजस्ती देखिई । गाउँमा बूढा आमाबुआ मात्र, जात्रेसुत्रे इष्टमित्रहरू सबै कमाइका लागि विदेश गएकोले आफन्तहरूमध्ये केही पढेलेखेकी उही रजियामात्र थिई । अनि उसैलाई साथीको रूपमा लिएर काठमाडौँ लैजाने घरसल्लाह भएको थियो ।
गोडा मिचिरहेकी रजिया अति माया लाग्दी देखिएकी थिई । ‘यसलाई बिहा गरेर मैले पापै गरेछँु, अल्लाहले मलाई माफ गर्ने छैनन्’, अब्दुल मनमनै सोच्न थाल्यो र आफूले बिहेका लागि स्वीकृति दिएकोमा पश्चात्ताप गर्न लाग्यो ।
उनीहरूको बिहा भएको पनि ६ महिनाभन्दा बढी भइसकेको थियो । रजिया दुलही बनेर आएपछि, गाउँघरमा सबैकी चहेती१० बनेकी थिई । सबैसँग हाँसेर बोल्दथी, सबैलाई सकेसम्म सहयोग गर्दथी । मदरसा इस्लामिया११मा पढ्ने केटाकेटीहरूलाई ऊ अरबी भाषामा लिखित पवित्र ग्रन्थ कुरान सिकाउँथी । सरकारी स्कुलमा पढ्नेहरूलाई अङ्ग्रेजी र हिसाब गर्न मद्दत गर्दँथी । आइमाई बूढीहरूलाई इस्लामिक धार्मिक गीत मिलाद१२ सुनाउने गर्थी । के केटाकेटी, के बुढाबुढी सबैले रजियालाई मन पराएका थिए ।
अब्दुलको परिवार गाउँभरिमा सम्पत्र थियो । दसदस विघा जग्गा थियो, गोठभरि गाईभैँसीहरू थिए, किराना पसल थियो । अब्दुल घरको एक्लो छोरो, उसका दुई बहिनीहरू बिहे गरेर छिमेकीे गाउँमा घरजम गरिरहेका थिए । अब्दुलको परिवारले गाउँमा मदरसा११, मस्जिद१३ बनाउन पाँचपाँच कट्ठा जग्गा दान दिएका थिए । समाजमा उनीहरूको परिवारलाई मान, सम्मान, इज्जत सबै प्राप्त थियो ।
अब्दुलकी आमालाई अब एउटी बुहारीको मात्र खाँचो थियो । उसले वरपर छरछिमेक वल्लोपल्लो गाउँ सबैतिर बिहेयोग्य केटीहरू हेरिरहेकी थिई, तर अब्दुल बिहा गर्न राजी भएकै थिएन । अम्मा१४, अर्काकी छोरीको जीवन किन बर्वाद गर्ने ? म बिहा नगरी त्यसै बस्छु । बिहाको कुरा चल्दा ऊ आमालाई सम्झाउँदै भत्रे गर्दथ्यो ।
छोरा ! खुदा१५ले हामीलाई सबै थोक दिएका छन् । तर समाजमा इज्जत राख्नैको लागि पनि तिम्रो बिहे गर्नुपर्दछ । मानिसहरूले दसथरी कुरा काट्न लागिसके । बरु दुःख पाएकी, गरिब केटीसँग बिहा गर, अन्धी, लुलीसँग बिहा गर, जोसँग गरेपनि मलाई एउटी बुहारी ल्याइदेऊ । आमा हरतरहले अब्दुललाई बिहेका लागि राजी गराउने, फकाउने कोसिस गर्थी ।
ऊ आमालाई सम्झाउन खोज्दथ्यो, “अम्मी१४! तपाइँलाई सबै कुरा थाहा छ र पनि किन मेरो बिहेका लागि यति जिद्दी गर्नुं हुन्छ ? म बिहे गर्नै सक्दिन, म कसैलाई स्वास्नी बनाउन सक्दिन ।”
चुप लाग, यस्तो कुरा गर्ने होइन । आइमाईहरू सहनशील हुन्छन्, बिहे गरेपछि सबै सहन्छन्, आआफ्नो नसिब१६ हो । उसकी आमाको आग्रहअघि अब्दुल लाचार बन्दथ्यो । अनि जब अब्दुलकी बहिनीले रजियासँग बिवाहको प्रस्तावलिएर आई । उसले रजियाको फोटो हेर्ने मौका पायो । अनि अब्दुलले आफ्नो बिगत, वर्तमान सबै बिर्सेर बिहा गर्ने स्वीकृति दियो । ओहो ! यो त इदको चाँद१७जस्तै मोहक रहिछ – सुन्दर, सुशील ।
बङ्गाली मुसलमान रजिया गरिब परिवारकी थिई । रजियाको सुकुम्वासी परिवार बङ्लादेश पाकिस्तानकै अधिनमा रहेको बेला दङ्गाबाट विस्थापित भएर नेपाल पसेको थियो । जाती, धर्म, रितीरिवाज एउटै भए पनि नेपाली मुसलमानहरू बङ्गाली मुसलमानलाई आफू भन्दा सानो र निम्नस्तरका मान्दथे । आफ्नो चेली उनीहरूलाई दित्रथे तर उनीहरूको छोरी, बहिनीलाई बुहारी बनाउँथे ।
रजियाको जन्म यहीँ नेपालमै भएको थियो । पहाडे हिन्दू केटाकटीेहरूसँग खेल्दै, हुर्केकी, रजिया नेपाली, हिन्दी, उर्दू सबै भाषा राम्रै बोल्दथी । उसले झापाको सरकारी विद्यालयमा कक्षा पाँचसम्म पढेकी थिई । अनि आफ्नो काकासँग घर मै अरबी भाषा पनि सिकेकी थिई । ऊ पाएसम्म धर्मग्रन्थका पुस्तकहरू पढ्ने गर्थी, रोजा१८ राख्दथी, नमाज१९ पढ्थी । प्रत्येक शुक्रबार हुने जुम्मा२०को नमाज१९का लागि मस्जिदमै जाने गर्थी । दीनदुःखीहरूको सक्दो सेवा र जकात२१ गर्थी ।
सुरुमा भद्रपुरमा बसेको रजियाको परिवार केहि वर्षपछि कोसीछेउको यस बस्तीमा दुई कट्ठा जग्गा किनेर बसाइँ सरेको थियो । यस गाऊँमा तराईबासी छ््यासमिसे हिन्दू परिवारका साथै पुस्तौँदेखि बस्दैआएका नेपाली मुसलमाहरूको बाक्लो बस्ती थियो । रजियाको बुबा किसान मजदुरी गरेर परिवार पाल्थ्यो । ऊसँग पैसा नभएकोले उमेर नाघिसक्दा पनि छोरीको बिहा गर्न सकेको थिएन ।
रजियाजस्ती गरिब, दुःख पाएकी केटीसँग बिहे गरे धर्म हुन्छ, परोपकार हुन्छ भत्रे विश्वासका साथ अब्दुल बिहे गर्न राजी भएको थियो । अनि केही दिनभित्रै रजिया बुहारी बनेर अब्दुलको घर आएकी थिई । रजियाको व्यवहार, आफूभन्दा मान्यजनहरूलार्ई गर्ने आदरसम्मान, सासूससुरा तथा परिवारका अन्य सदस्यहरूप्रतिको माया र सेवाबाट सबै प्रशत्र थिए । तर अब्दुल एउटा चिन्ताबाट पिल्साइरहेको थियो । ऊ रजियासँग एक्लै भएको बखत बडो दुखी भएर भन्थ्यो, “रजिया ! मलाई माफ गर । मैले तिमीलाई ठूलो धोका दिएँ । अन्धकारमा राखेँ, तिम्री जीवन बर्वाद बनाएँ । मैलै एउटा कुरा तिमीलाई थाहा दिएको छैन । तिमीजस्ती राम्री, ज्ञानी र सुशिल केटीले राम्राराम्रा लोग्ने पाउने थियौ, अझ पनि पाउन सक्छौ ।”
“यो के भत्रुभएको मेरो आका२२ ! मलाई तपाइँले बिहे गरेर कत्रो उपकार गर्नु भएको छ, नत्र हामी जस्तो गरिब केटीसँग कसले बिहा गर्ने थियो ? अल्लाह दयालु छन् । तपाईले यस्तो कुरा गर्नु हुत्र । लाइलहा इल्लालाहुल अलियुल अजिम२३, अल्लाहको नाम लिनोस् । यस्तो पाप नबोल्नुहोस् । तपाइँ किन यस्तो सोच्नु हुन्छ ?” ऊ अब्दुलको गोडा समाएर रुने गर्दथी ।
रजिया, अब्दुलको गोडा मिचेर बिगतका कुराहरू मनमा खेलाइरहेकी थिर्ईं । नर्सहरू आफ्नो नियमित ड््युटिका लागि आएको बेला अब्दुललाई अझै जागै र चिन्तित देखेर निद्रा लगाउने इन्जेक्सन दिएर गएका थिए । अब्दुल आँखाभरि आँसु लिदै लट्ठ भएर निदाएको थियो ।
रजियाको मन फेरि विरक्त भयो । मनमा विभित्र शङ्काउपशङ्का जाग्न लागे । ऊ बिगतमा हराई । बिहा गरेर ऊ अब्दुलको घर भित्रिएपछि, उसले घरव्यवहार समालेको देखेर अब्दुल झन्झन् उदास देखिन्थ्यो । ऊदेखि टाढाटाढा जाने, केही पश्चात्ताप, केही गल्ती गरेजस्तो उसको व्यवहार बुझीनसक्नुको थियो । ससुरा प्रायः दिनभरि पसलमै बस्थे । सामान बिक्री गर्नु, फुर्सत भएको बेला हुक्का तात्रु, नियमित रूपले नमाज१९ पढनु, मस्जिद१३ जानु रोजा१८, बकरिद२४ पर्वहरू धूमधामसँग मनाउनु, उनी एक आदर्श मुसलमान थिए । सासूससुरा दुवैले रजियालाई आफ्नी छोरी जस्तै माया गर्दथे । रजियालाई कुनै चिजको कमी थिएन । उसलाई एउटै कुरामा आश्चर्य लाग्दथ्यो बिहा भएको ६–६ महिना बितिसक्दा पनि अब्दुल एक रात ऊसँगै सुतेको थिएन । धेरैजसो ऊ घरबाहिर बस्ने औसर खोज्दथ्यो र घरमै बसेको रात एउटै कोठाभित्र सुत्दा पनि ऊ सन्चो नभएको, तवियत२५ खराब भएको बहाना बनाउँथ्यो । ऊ अब्दुलको गोडा मिचीदिन्थी, तेल लगाइदिन्थी । भो, भो तिमी थाकेकी छौ भन्दाभन्दै ऊ निदाएर घुर्न लाग्दथ्यो । रजिया उसको बलिष्ट पाखुरा र चौडा छाति हेर्दै छटपट गरेर धेरै रातसम्म अनिँदै रहन्थी ।
पसलका लागि सामान कित्र, घरका लागि केही सामान ल्याउन इनरुवा वा सीमा पारिको शहर विरपुर जानु पर्दा रजियालाई पनि सँगै लिएर जाने आदेश अब्दुलकी आमाले दिन्थी, “बुहारी दिनभरि एक्लै बसिरहन्छे, भटभटियामा पछाडि राखेर दुलहीलाई पनि लिएर जा, उसको मन बहलिन्छ ।”
सामान कित्र धरान वा विराटनगर जाँदा रजिया अन्य स्वास्नीमानिसहरू जस्तै साडी वा सेरवानी मात्र लगाउँथी तर सीमापारि भारतको विरपुर बजारमा सस्तो सामानहरू कित्र जाँदा रजिया बुर्का२६ पनि लगाउँथी । बुर्का लगाएकी महिलालाई मानिसहरू इज्जत दिन्थे, बुर्काले उसलाई लोग्नेमानिसहरूको उत्ताउलो नजरबाट पनि जोगाउँथ्यो, ऊ आफूलाई सुरक्षित ठान्दथी र मनलागेको कुरा निर्धक्कसँग बुर्काभित्रबाट हेर्न पनि सक्थी ।
रमदान पर्व नजिक आइरहेको थियो । घरयसी सामान कित्र उनीहरू मोटरसाइकलमा बसेर वीरपुरतिर जाँदै थिए । डुमराही२७नजिक एक्कासि एक हूल नापाक२८ जन्तु (सुँगुर) च्वाँच्वा गर्दै बाटो छेक्न अगाडि आइपुगेको थियो । या अल्लाह४, त्यहि अपवित्र जन्तुबाट बच्न खोज्दा उनीहरू दुर्घटनामा परे । संयोगले रजिया लडेर एउटा बलौटे खाल्डोमा खसी तर अब्दुल अगाडिको रूखमा ठोक्किन पुगेको थियो । गाउँलेहरूले उनीहरूलाई नजिकैको हेल्थपोष्टसम्म बोकेर पु¥याएका थिए ।
घाउ त्यति गहिरो छैन भनेर उनीहरू स्थानीय स्वास्थ्य केन्द्र मै उपचार गराएका थिए तर घाउ झन्झन् बल्झिएर सेप्टिक भएको थियो । अनि उनीहरू लाचार भएर काठमाडौँ आएका थिए– थप उपचारका लागि ।
रजिया अल्लाहसँग बिलौना गर्दथी, “किन यो घाउ मलाई लगाइदिएनौ, अब्दुललाई किन यति दुःख दिएको ?” ऊ अल्लाहसँग प्रार्थना गर्दथी । ऊ विगतमा हराएर कति बेला निदाइ पत्तो नै भएन ।
“बेगम, बेगम२९”! अब्दुल उसलाई बोलाइरहेको थियो, उसलाई पिसाब लागेको रहेछ । युरिनलमा पिसाब फेराउन लाग्दा ऊ जहिले पनि रजियालाई अर्कैतिर हेर्न, भित्तातिर फर्कन भत्रे गर्दथ्यो । रजिया अचम्म मान्दथी कस्तो लाज मात्रे लोग्नेमानिस हो, आफ्नी स्वास्नीसँग पनि यति धेरै लाज मान्छन् र ? ऊ छक्क पर्दथी ।
अब्दुललाई हेर्न, उसको सञ्चोबिसन्चो सोध्न उनीहरूकै गाउँको हमिद कहिलेकाहीँ आउने गर्दथ्यो । हमिद, अब्दुल भन्दा करिब तीन, चार वर्ष जेठो थियो । तर एउटै गाउँ, एउटै ठाउँ, सँगै गाईभैँसी चराउँदै, कोसीमा पौडी खेलेर हुर्किएका थिए । अचेल ऊ माझीहरूले मारेको कोसीको माछा काठमाडौँमा ल्याएर बिक्री गर्दछ । राम्रो आम्दानी हुन्थ्यो । गाउँघरतिरका मानिस काठमाडौं आएको बेला, आवश्यक सहयोग उसैले गर्दथ्यो । अब्दुलको लागि पनि गाउँबाट पैसा ल्याइदिने उनीहरूको हालखबर आमाबुबासम्म पु¥याउने काम उसैले गर्दथ्यो । हमिदकी स्वास्नी केही वर्षअघि कोसीको भङ्गालो तर्न लाग्दा डुबेर मरेकी थिई । त्यसपछि उसले अर्को बिहा गरेको थिएन । हमिद, रजियालाई हेरेर जिस्काउँने गर्दथ्यो, “बेगम साहिवा ! आफ्नी स्वास्नी त अल्लाहकी प्यारी भई, मलाई तिमीजस्तै राम्री एउटी खोजिदेऊ न ।”
हमिद अस्पताल आएको दिन अब्दुल पनि निकै खुसी हुन्थ्यो । उसको अनुहार हँसिलो हुन्थ्यो । उनीहरू धेरैबेरसम्म हाँसीहाँसी बाल्यकालका कुराहरू गर्दथे । बसको पछिपछि झुन्डिएको, कोसीटप्पुमा चराको सिकार खेलेको, कोसीमा माछा मारेको, पौडी खेल्दा डुबेर पानी खाएका कतिकति कुराहरू हुन्थे । अनि अब्दुल, हमिद र रजियालाई सँगसँगै बस्न लगाएर कस्तो सुहाएको जोडी भन्दै जिस्काउँथ्यो । जब हमिद जान्थ्यो, अब्दुल थकान र कमजोरीले लस्त भएर अलसतलस बन्दथ्यो ।
डाक्टरको उपचारले, रजियाको सेवासुसारले अब्दुललाई धेरै बिसेक हुँदै गएको थियो, गोडा काट्नु परेन, उसका घाउ भरिदै आएको थियो । जब अब्दुल आफैँ केही हिँड्डल गर्न सक्ने भएको थियो उसले हमिदसँग अनुनय गरेर रजियालाई काठमाडौँको घन्टाघर स्थित जामेमस्जिद, दरबारमार्ग स्थित पञ्च कस्मिरी, बौद्ध धर्मावलम्बीहरूको स्वयम्भू, हिन्दूहरूको पशुपति आर्यघाट, विदेशी पर्यटकहरूको थलो ठमेल, किनमेलको बजार न्युरोड सबैतिर घुमाउन लगाएको थियो ।
रजिया पराया लोग्नेमानिससँग एक्लै घुम्न जान मान्दिनथी । अब्दुल उसलाई फकाउँदै भनेको थियो, “हमिद त आफ्नै परिवारको सदस्य हो, ऊसँग के लाज मात्रु, फेरि यहाँ परदेशमा ऊ बाहेक हाम्रो को छ र ? तिमी अल्लाहसँग दुआ३० माग्न मस्जिद जान लागेकी हौ, पाप लाग्दैन, जाऊ, काठमाडौँ आएको बेला, जानुपर्छ । अहिले हामी मक्का३१ जान नसक्नेहरूका लागि यही जामेमस्जिद हाम्रो लागि मक्का हो, मौका गुमाउनु हुत्र ।”
रजिया लोग्नेको लागि दुआ३० माग्न पनि मस्जिद जान राजी हुन्थी । उनीहरू फर्केर आएपछि अब्दुल, हमिदको खुब तारिफ गर्दथ्यो, “बडो असल मानिस छ । आर्थिक रूपले सम्पत्र छ, आफ्नी स्वास्नीलाई एकदम माया गर्दथ्यो ।” अनि उदास भएर भत्रे गर्दथ्यो, “रजिया म गुनहगार३२ हुँ, मैले नापाक२८ काम गरेकोले अल्लाहले मलाई यो दुघटनाले एउटा सजाय दिएका हुन्, सचेत गराएका हुन् । अखिरत३३ का दिन दोखज३४ जानुपर्नेछ, म नरक जान चाहात्र । अल्लाह मियाँ, मलाई माफ गर ।”
यस्तो कुरा नगर्न रजिया ऊसँग अनुनय, गर्दथी, बिन्ती गर्दथी । तिमीलाई पाएर म एकदम सुखी छुँ, खुसी छुँ भन्थी । तर किन हो किन अब्दुल भित्रभित्रै जलिरहेको हुन्थ्यो ।
अब्दुललाई डिस्चार्ज३५ गर्ने समय आउन लागिसकेको थियो । रजिया पनि अचेल निकै खुसी देखिन्थी अल्लाहले कृपा गरे– रहम३६ गरे भनेर । अल्लाहको लाखलाख शुक्र३७ छ, धन्यवाद । आफ्नो लोग्ने, आफ्नो हरम३८ बिसेक भएकोमा ऊ अल्लाहलाई मुरीमुरी धन्यवाद दिन्थी ।
रमजान३९ को महिना चलिरहेको थियो । मुसलमानहरू रोजा१८मा थिए, दिनभरि निराहार भएर व्रत बस्थे । आज पनि हमिद, अब्दुललाई भेट्न आएको थियो । अब्दुलले रजियालाई सेवई र खजुर किन्न बाहिर पठाएर हमिदसँग कुरा गर्न लाग्यो ।
अब्दुलले हमिदको हात समातेर विनित स्वरमा भन्यो, “हमिद मियाँ४० मलाई पैगम्बर४१बाट एउटा इलहाम४२ प्राप्त भएजस्तो लाग्छ । मलाई अल्लाहले हज४३ गर्न जाऊ, मक्का३१ जाऊ भत्रे आदेश दिनु भएको छ । म अब यो साँसारिक मायामोहबाट छुटकारा चाहान्छु । म तिमीलाई एउटा परोपवारको काम सुम्पन चाहान्छु । यो पवित्र महिना हो, तिमीले मलाई सहयोग गर्ने बचन दिनुपर्छ । एक सच्चा मुस्लिमले धर्मको कामबाट नाइँ भत्र मिल्दैन, मलाई बचन देऊ ।”
हमिद बडो दुविधामा प¥यो । ऊ पनि एक सच्चा मुसलमान थियो, फेरि रमदानको महिना । सिकिस्त बिरामी भएर थला परेको बाल्यकालको मित्र, उसले सक्दो सहयोग गर्ने बाचा ग¥यो । हमिदबाट आश्वासन पाएपछि अब्दुल भत्र लाग्यो, “हेर ! हाम्री रजिया अहिले पनि उस्तै पवित्र छ, जस्ती बिहा गर्नु अघि थिई । तिमीलाई थाहा नै छ, जब म तीनचार वर्षको थिएँ, मेरो मुसलमानी४४ गर्दा खतना४५ गरेको ठाउँमा बाँसको कर्चिले घोचिँदा संक्रमण भई पाकेको थियो । पछि त्यो घाउ बिसेक त भयो तर जननेन्द्रियका नसाहरू गुँडुलो परेर बडहरको फल जस्तो गुजुल्टो परेको छ । अब त्यो अङ्ग एक पिसाप फेर्ने प्वालको रूपमा मात्र बाँकि छ । तिमी भन यस्तो अवस्थामा मैले रजियासँग बिहा गरेर महापाप गरिन् ? के लाई अल्लाहले माफ गर्छ्न् ? तिमी मलाई यो पापबाट उन्मुक्त्ति देऊ, तिमी रजियासँग बिहा गर ।”
अब्दुलसँग छलफल भएपछि हमिदले रजियालाई आफूले पनि बिहा गर्ने कुरा सुनायो । केटी पनि फेला परिसकेकी छ तर उनको स्वीकृति लिनमात्र बाँकी भएको भन्दै उसले रजियालाई रोजाएर काठमाडौँमा थुप्रै लत्ताकपडा किन्यो, गहनाहरू बनायो ।
अस्पतालबाट डिस्चार्ज भएपछि अब्दुल, रजिया र हमिद एउटै बसबाट सँगै आफ्नो गाउँ रहिमपुर आए । घर पुगेको केही दिनपछि अब्दुलले गाउँमा एक भोजको आयोजना ग¥यो, इफ्तारी४६को आयोजना ग¥यो । इष्टमित्र, मौलवी, हाजी सबै निमत्याइए । भोजको कार्यक्रममा रजिया सहित अन्य महिलाहरू पर्दा पछाडि बसेर सहभागिता जनाइरहेका थिए । उपस्थित भद्र भलादमीहरूको बैठकमा अब्दुलले रजियालाई पनि निम्त्यायो । ऊ लजाउँदै, डराउँदै पर्दा पछाडि आएर बसी ।
अनि केही गम्भीर भएर उपस्थित भलादमीहरूको ध्यान आफूतिर आकृष्ट गर्दै अब्दुलले रजियातिर हेरेर भत्र सुरु ग¥यो, “रजिया एकदम नेक४७ कन्या हुन् । उनले मलाई, मेरो परिवारलाई र मेरो सेवा स्याहारमा कुनै कमी राखेकी छैनन् । उनमा कुनै खोट४८ छैन, तर म एक योग्य पति हुने क्षमता राख्दिन, म उनको योग्य छैन । म रजियालाई स्वतन्त्रता दिन्छु, उसलाई आफ्नो बन्धनमा बाँधी राख्न चाहत्र । उसँग सम्बन्धविच्छेद गर्न चाहान्छु । हाम्रो सम्बन्ध लोग्नस्वास्नीको रूपमा नरहेतापनि हामी सधैँ एक असल मित्र रहने छौँ ।” अनि उसले इस्लामीे सरिअन४९ अनुसार तीन पटक भन्यो –
“तलाक५०!”
“तलाक ! !”
“तलाक ! ! !”
“रजिया अवाक् भई, ऊ रुन लागी । यो के भयो, उसले के र कहाँ के गल्ती गरी, किन अब्दुलले यसरी तलाक दियो ? उसले केही थाहा पाइन ।
मानिसहरू खासखुस गर्न लागे । केही युवाहरूले विरोधको स्वर उठाउन चाहे । अनि मानिसहरूलाई शान्त पार्र्दैं भीडबाट उठेर हमिदले भन्यो, “इहदिनास सिरातल मुस्तकिम५१, अब्दुल एकदम नेक४७ मानिस हुन् । उनी अल्लाह र उसका रसुल५२ मा विश्वास राख्छन् । रजियासँगको तलाक पनि अल्लाहको रसुल५२ हो । तपाइँहरूलाई थाहै छ, मेरी बेगम२९ मरेकी पनि आज तीन वर्ष भयो । म एक्लो छुँ– म पनि परिवार बसाउन चाहान्छु । घरजम गर्न चाहान्छु । रजियाको स्वीकृति पाए म ऊसँग निकाह५३ गर्छु । म उनलाई जीवन साथी बनाउन चाहान्छु ।”
उसले मौलाना५४तिर हेरेर हात जोड्दै निकाह५२का लागि स्वीकृति माग्यो । उपस्थित जनसमुदाय तर्फ हात जोड्दै समर्थन चाह््यो, अनि पर्दा पछाडिकी रजिया तिर हेर्दै सहयात्राका लागि याचना गर्न लाग्यो ।
गाउँका पाका मानिसहरू अब्दुलको प्रशंसा गर्न लागे, “क्यावात, क्यावात५५ अब्दुल ! तिमीलाई हाम्रो शुभकामना छ ।” ंअब्दुल र हमिद आपसमा अङ्कमाल गर्दै एकअर्र्कालाईं बधाई दिए । पर, पर्दा पछाडि बसेकी रजिया एकै पटक मिलन र बिछोडको भुमरीमा परी । हर्ष र बिस्मातको भँगालोमा भासिई । उसको अनुहार भूपिको ‘मैनबत्तीको शिखा’ झैँ भयो–
एकातिर धप्पधप्प बलिरहेछ अनुहार !
अर्कातिर तप्प तप्प ढलिरहेछ अश्रुधार !!
(“निकाह” गरिमा, वर्ष २९, अङ्क ४, पूर्णाङ्क ३४०, चैत २०६७ )




शब्दार्थः
१.स्वास्नी, २.इष्टमित्र, ३. पश्चात्तात, ४ ईश्वर, ५. मक्कामा भएको मस्जिद, ६. इस्लामिक घोषणा, ७. अल्लाह अतिरिक्त अरू कोही इश्वर छैन, मुहम्मद उनका दुत हुन्, . आशिवाद, ९.ईश्वर (अल्लाह) कृपालु छन्, दयावान छन् १०. मनपराएकी, ११. इस्लाम धर्मको पाठशाला, १२. धार्मिक गीत, १३. इस्लाम धर्मंको मन्दिर, १४. आमा, १५ ईश्वर, १६. भाग्य, १७ इस्लामिक धार्मिंक पर्व इदमा देखिने चन्द्रमा, १८. उपवास, १९.प्रार्थना, २०. मुख्य , २१. दान धर्म, २२ स्वामी ,२३.सर्वशक्तिमान, पूजनीय अल्लाह, २४.इदपछिको पर्व, २५. स्वास्थ्य, २६.मुस्लिम महिलाले पुरै शरीर ढाक्ने गरी लगाउने गाउन, २७.डोम जातको बस्ती, २८. अपवित्र, २९. महिलालाई श्रद्धापूर्वक गरिने सम्बोधन, ३०.आशिष्, ३१. इस्लाम धर्मका संस्थापक हजरत मुहमदको जन्म स्थान, ३२. अपराधी, ३३. मत्युको बखत,३४. नरक, ३५. अस्पतालमा भर्ना भएका बिरामी निको भएर घर जाने क्रम, ३६.दया, ३७. धन्यवाद ३८. लोग्न, ३९.व्रत, ४०.साथी, ४१. ईश्वर, ४२. ईश्वरीय सन्देश, ४३. तीर्थयात्रा, ४४. पाँच वर्ष मुनिका केटाहरूलाई धार्मिक अनुष्ठान गरी मुसलमान धर्माबलम्बी बनाउने विधि ४५. लिङ्गको टाउकोबाट छाला काटेर हटाउने धार्मिक विधान, ४६.सामूहिक भोज, ४७.असल, ४८.कमी, ४९. इस्लामिक आचारसंहिता, ५०.सम्बन्ध विच्छेद, ५१. अल्लाह मलाई सच्चाइ तर्फ डो¥याउ,५२. फैसला, ५३. बिहा, ५४. मुसलमानको पण्डित, ५५.स्याबास ।

Sunday, 30 October 2011

छोरा छैनन् ? छोरी मात्रै ? रामेश्वर र सुमित्रा पाण्डे

छोरा छैनन् ? छोरी मात्रै ? रामेश्वर र सुमित्रा पाण्डे

(साभारः कान्तिपुर आइतबार १४ साउन २०६३ जुलाई ३०, २००६)

धेरै दिनदेखिको अकुसमुकुसलाई आज यस लेखको मार्फत व्यक्त गर्न लागिरहेका छौं । हामीजस्तै छोरीका आमा–बुबालाई पनि यस्तो समस्या भोग्नुपरेको होला ? गाउँले समाजमा मात्र होइन्, पढेलेखेका शिक्षित पनि यो बुझदैनन् । महिला मीत्रबीच मात्र नभएर पुरुष साथीले पनि प्याच्च भनिहाल्दछन् ‘ ए, छोरी मात्र ? छोरा छैनन् ?’
छोरा– छोरीको प्रसङ्ग चल्दा हामीलाई पहिलेपहिले लाग्थ्यो यो प्रसङ्गै नचलेको बेस । कसैले ‘कति छोराछोरी छन्’ भनि नसोधे हुन्थ्यो । सोधेपछि जवाफ दिनै पर्ने ? हामी टार्ने उद्धेश्यले ‘तीन’ भन्थ्यौंं । लगत्तै अर्को प्रश्न तेर्सिन्थ्यो ‘छोरा, छोरा ।‘ मानिसको प्राथमिकता छोरामै हुन्थो । ’छोरी, छोरी‘ । अनि एउटा लामो विश्मय ए . . . पछि सुरु हुन्थ्यो लामो अर्ति, उपदेश, जुन हामी सुन्न चाहन्नथ्यौं, न सुनेर प्रतिकार गर्नु उचित ठान्थ्यौंंं ।
हामीलाई त्यतिबेला दुखः लाग्थ्यो जब महिला स्वयंले छोरीमात्र भएकोमा हामीप्रति सहानुभूति पोख्थे । अरू त अरू, साथीहरू जसले आफ्ना माता पितालाई नोकर सरह राखेका छन् उनीहरूको पनि एउटा उपदेश हुन्थ्यो ‘एउटा छोरा त नभई हुन्न ।’ जस्तो ‘आफ्नो छोराले उनीहरूलाई श्रवणकुमारले झैं पाल्छ भन्ने विश्वासमा उनीहरू ‘ढुक्क छन् ।’ हामीले धेरै साथीभाइ देखेका छौं, जसले छोरा पाउन आफूले धान्नै नसक्ने बच्चा पाएका छन् । कत्तिले त अर्को विहा गरेका छन् । अनपढ गाउँले पुरुषमात्र होइन, बुद्धिजीविलाई पनि छोरो चाहिने ? यसरी पाएको छोराको चर्तिकला, बाउ– आमाका सत्तोसराप र बिचल्ली देखेर हामी अघाइसकेको छौं ।
हाम्री माहिली छोरी बुबाको अनुहार परेकी छे । झलक्क देख्दा केटाजस्तो । हाम्रो बुबा उसलाई ’छोरा, छोरा ‘ भन्नुहुन्थ्यो मायाले । विदेशमा लगेर अपरेसन गरी छोरा बनाउने कुरा गर्नुहुन्थ्यो जिस्केर । उसमा छोरा नै हुँ । छोरा बन्नुपर्दछ भन्ने जागेको हुनुपर्दछ त्यसै बखत ।
ऊ सानै छँदा म (बुबा) लामै समयका लागि अध्ययन गर्न विदेश गएको थिएँ । फर्की आउँदा माहिली छोरी हाफपेन्ट र टिसर्ट लगाउने तथा केटाको जस्तै कपाल पालेर स्कुल जाने भइसकेकी थिई । प्रायः म (बुबा) घर वरपर घुम्दा वा बजार तिर जाँदा माहिलीलाई लिएर जान्थें, जेठी र कान्छी आमासंगै बढी रमाउँथे ।
हाम्रा केटाकेटी बारे थाहा नहुने साथीले ‘छोरा हो ?’ भनि सोद्दा ‘हो’ भनिदिन्थें । त्यतिबेला हाम्री छोरी मेरो अनुहारतिर पुलुक्क हेर्थी । मैले झूठो बोलेकोमा उसलाई आश्चर्य लाग्दो होला । म उनीहरूलाई जहिले पनि साँचो बोल्नुपर्छ भनी शिक्षा दिन्थे । हुन सक्छ ऊ छोरी भएकोमा हीनताबोध गर्दी हो र आफूलाई धिक्कार्दी हो ।
हाम्रा तीन छोरी मध्ये जेठी र कान्छी, छोरीजस्ता अनि माहिली छोराको अनुहार परेकी छ । मानिस झुक्किएर ‘दुई छोरी, एक छोरा ?’ भन्थे । हामी पनि ‘हो’ भनी दिन्थ्यौंं ।
छोरी सानै छँदासम्म ठीकै थियो । सात कक्षामा पढुनजेलसम्म केटा जस्तै कपडा लगाउने, केटा सरह हिंड्न खोज्थी । स्कुलमा ऊ ब्वाइज ड्रेस नै लगाउँथी । दसैंको बेला वा अन्य अवसरमा कुनै कपडा किन्नु पर्दा पेन्ट चाहिने । निक्कैपटक हामीले फ्रक किनी दियौं ती सब खेर गए । स्कुलमा उसका केटासाथी बढी थिए अनि ऊ केटासँगै फुटबल तथा अन्य खेल खेल्थी ।
एकपटक उसले आमासँग भनेकी थिई मलाई मिसले भन्नुभएको ‘कस्तो केटीको जस्तो नाम राखेको (ऋजुता) ? केटा मान्छेको त ऋजुत हुन्छ । ऋजुत लेख ऋजुत ।‘ उसले आफू छोरी भएको शिक्षकलाई बताउन सकेकी थिइन । कतिपटक उसलाई केटीहरूसँग बसेको देखेर नयाँ मिसले सिट बदल्न भनेको गुनासो ऊ गथी । यी सब कुराले उसको मानसिकतामा दुविधा उत्पन्न भएको छनक पाइन्थ्यो ।
ऊ ठूली भएपछि निक्कै समस्या पो पर्ने हो की ? अब हामीलाई उसकोे भविष्यप्रतिको चिन्ताले सताउन थाल्यो । हामीले उनीहरूलाई स्थितिबोध गराउन ‘छोरी, छोरी’ भनी बोलाउन सुरु गरेथ्यौंं । ‘म छोरी नै हँु’ भन्ने अनुभूति गराउनु हाम्रो उद्देश्यय थियो ।
हामीलाई एकातिर छोरीहरू मात्र भएकोमा लामो सफाई दिनुपर्ने, अर्कोतिर छोरीको मनोविज्ञानमा असर पर्ने पीर ? हामीले छोरीहरूलाई सम्झाउन सुरु ग¥योः
छोरी र छोरामा प्राकतिक विभेदमात्र हो। छोरी पनि छोरा छोरा सरह हुन् । छोराभन्दा छोरी बढी सशक्त र सिर्जनशील हुन्छन् । वंश वृद्धिका लागि मानिसले शुक्रकीट र स्वास्नी मानिसले डिम्ब उत्पादन गदछन् । सन्तानोत्पत्तिका लागि यही शुक्रकीट र डिम्ब संयोजन हुनु आवश्यक हुन्छ । गभाधानको बेला शुक्रकीट र डिम्बमा भएको एक्स र वाई क्रोमोजोम मिलेर लिङ्ग निर्धारण भई छोरा वा छोरी बन्छन् । सन्तान उत्पादनका लागि स्त्री –परुष दुवै नभई यो मानव जातिको वंश चल्न सक्दैन ।
सामाजिक व्यवहारका लागि मात्र स्त्री र पुरुष विवाह बन्धनमा बाँधिएका हुन् । वंश वृद्धि तथा सन्तान प्राप्तिका लागि लोग्ने मानिसको ठूलो सङ्ख्या आवश्यकता छैन । पृथ्वीमा केही लोग्ने मानिस र अरू सबै स्वास्नी मानिस भए पनि सृष्टि क्रम चलिरहन सक्छ । अनावश्यक रूपमा अशक्त भालेलाई हटाएर योग्य, शक्तिशाली तथा सर्वगुण सम्पन्न भाले राख्ने र योग्य सन्तान जन्माउने प्रविधि पाल्तु पशुमा निकै लोकप्रिय छ जसलाई हामी कृत्रिम गर्भाधान पद्दति भन्दछौं । प्राकृतिक रूपमा अन्य जीवमा पनि अनावश्यक भाले विनाश गर्ने प्रणाली पाइन्छ । जस्तै माहुरीले पनि बढी तथा अनावश्यक भालेलाई भोकै राखेर नाशी (मारी) दिन्छन् । कथं कदाचित सृष्टिको क्रममा सबै लोग्ने मानिसको संहार भएर केही छोरा मात्र बाँचेमा पनि यो मानव वंश चलिरहन सक्छ तर स्वास्नी मानिस मासिएमा मानव जाति लोप भएर जान्छ । विकासको सुरुमा मातृसत्तात्मक समाज थियो, स्वास्नी मानिसको सर्पोपरि स्थान थियो तर समयको क्रममा स्त्री जातिको स्थान अहिले तल झारिएको छ त्यो उच्च स्थान फेरि पाउन तिमीहरूले प्रयास गर्नुपर्ने हुन्छ ।
छोरा छोरीका कुरामा महिलाले अझ बढी समस्या भोग्नुपर्छ । यस्तो वचन स्वास्नी मानिसले बण्ी सुन्नुपर्छ । छोरा जन्माउन नसकेकोमा सबै दोष त श्रीमतीको मात्र हो ? जीव विज्ञानको ज्ञान हुने मानिसले पनि दोष श्रीमतीकै दैख्छन् ।
प्रायः हामीबीच छोराछोरी सम्बन्धी अथवा साथीले गरेको चर्चा परिचर्चासम्बन्धी छलफल हुन्थ्यो । मानिसले आफ्नो विचार, भावना हामीमा थोपर्ने अवसर नपाउन भन्ने हाम्रो चाहना हुन्थ्यो । यस्तैमा हामीले जुक्ती निकाल्यौ अरूले सोध्नुभन्दा अघिबाटै भनिदिने ’ हाम्रो तीन छोरीहरू छन् ।‘ धेरैले थप प्रश्नै गर्दैनन् होला भन्ने सोंचेका थियौ तर होइन, मानिसहरूको जात ? ‘ए, छोराको प्रतिक्षामा हुनुहुन्छ? ’ जिज्ञाषा पोखिहाल्ने ? अनि छोरा जन्माउने उपाय, उचित आशन, तिथि, बार, अवसर आदि, इत्यादि थुप्रै उपाय, सुनाउँथे । अर्को बिहा गर्ने सल्लाह दिने ’हितैषीहरू‘ त कति हुन कति ?
‘ होइन, हामीले त स्थायी परिवार नियोजन गराएको पनि दस वर्ष भइसक्यो’ अनि उनीहरू वाल्ल परेर हाम्रो मुखमा हेर्थे । मनमनै भन्दा हुन– कस्तो बेधर्मी ? मरेपछि दागबत्ती हाल्ने कसले ? यत्रो सम्पत्तिको भोग चलन गर्ने को ? आफ्नो कुल वंशको सञ्चालन गर्ने को ?
’ठीकै गर्नुभयो छोरा भए पनि छोरी भए पनि सन्तान त एकै हुन‘ भन्ने अति थोरै हुन्थे । हो, यही अति थोरैको सङ्ख्यालाई हामीले बढाउनु छ, समाजमा छोरा –छोरीको भेदभाउ हटाउन । स्त्रीलाई उनीहरूको अधिकार दिलाउन ।
अहिले हाम्री माहिली छोरी आठमा पुगेकी छे, उसमा शारीरिक विकासको क्रममा थुप्रै परिवर्तन सुरु हुन लागेका छन् । आज हाम्रा छोरीमा आत्मविश्वास जागेको छ । उनीहरूले छोरी हुँ, केटाभन्दा कम छु भन्ने भावनामा विजय प्राप्त गरेका छन् । स्कुलमा पनि उनीहरू धेरै केटाभन्दा उम्दा छन् । केटी पनि केटाभन्दा कुनै क्षेत्रमा कम छैनन् भन्ने आत्मविश्वासले भरिएका छन् । हामीलाई पनि गर्व छ त्यस्ता छोरी पाएकोमा ।
पो बक्सः १०२४५ काठमाडौ

Sunday, 24 July 2011

सिङ्गथाजी -कथा _राशि पाण्डे

सिङ्गथाजी -कथा _राशि पाण्डे

अनि नीमा चरचरी बाझ्न लागी । फोहर फोहर शब्दले सराप्न थाली । धेरै दिनदेखि गुम्स्याएर राखेको रिस आज पोखियो । उसका पीडाहरू, आक्रोशहरू गाली भएर निस्किन लागे ।
मिङमरले होटलमा चासो लिन छाडिसकेको थियो । ऊ दिनभरि रक्सीमा टिल्ल रहन्थ्यो । अनि साँझ पर्नासाथ गायब । दोर्जेकी स्वास्नीसँग लहसिएको, उससँग पल्केको अनि जारी तिरेर भए पनि नल्याई नछाड्ने निधो गरेको कुरा नीमाले कताकता सुइँको पाएकी थिई । लोग्नेलाई फकाउने, रिझाउने हर उपाय गर्दा पनि उसको बानीबेहोरामा खास सुधार हुन सकेको थिएन । दिउँसोदेखि नै नीमाको पारा तातेको थियो । डोल्माले एक डोको कुरा सुनाएर गएकी थिई । जब मिङमर ढुनमुनाउँदै मध्यरातमा आइपुग्यो । नीमा फत्फताउन लागी । ख्यारख्यारती पार्न लागी । पहिले त मिङमरले लजमा बसेका मानिसहरूको ख्याल राखेर चुपचाप लागेर सुत्ने निहुँ गरिरह्यो । तर जब नीमा ज्यादै कराउन लागी मिङमर पनि बम्कियो । दुवै चर्काचर्की गर्न लागे । झगडाको विसर्जन मारपिटबाट भयो । नीमाले भक्कु पिटाइ खाएर ।
मनमा उठेका पिर र पिटाइको पीडाले नीमा सुक्कसुक्क गरी रुन थाली । धेरै बेरपछि उसको रुवाइ शान्त भयो । मिङमर चुल्होनिर त्यसै लम्पसार परेको रहेछ – केही न ओढी । नीमाको मनको एक कुनामा माया उब्ज्यो । काम्लो ओढाइ दिऊँ कि ? तर त्यस्तो बेइमानलाई केको माया ? नीमा खाटमा पल्टी र चुरोट सल्काई । धुवाँ सँगसँगै उसका विगत सल्बलाउन लागे ...
रेन्जनको घ्यावामा नीमा तिनतिन रातसम्म नाँचेकी थिई, गाएकी थिई । गाउँभरिका आफन्तहरू, उमेर पुगेका युवाहरू, युवतीहरू साँझ पर्नु अगाडि नै जम्मा भएका थिए घ्यावा हुने थलामा, सजिसजाउ भएर, झकिझकाउ भएर । नीमा पनि नयाँ आङदुङ, स्यार्मा, तोर्मा लगाएर भुटिल, ग्यान्जेन, सीतुप, झरू आदि गहनाले सिँगारिएकी थिई । मिङमरले पनि त्यस दिन लय हालीहाली गीत गाएको थियो । नक्कल पारी पारी नाचेको थियो । फुरू भरिभरि रक्सी पिउँदै –
“ से ऽ ऽ.ला ऽ ऽ.ना ङ ऽ ऽ. याला सी
काङ ऽ ऽऽ ऽ. दि ऽ ऽ. दारसिंग कमो
सून ल्याई के जे ज्याल कोरा ल्यास् .........!”

एउटै गाउँ, एउटै ठाउँका भएर पनि, बाल्यकालदेखि सँगै हुर्के बढेर पनि नीमाले मिङमरलाई चिन्न सकेकी रहिनछ । उसको भित्री मन छाम्न सकेकी रहिनछ । त्यो दिन मिङमर नीमालाई अति मन परेको थियो । दुवै जना हातमा हात जोरेर रातभरि नाँचेका थिए ।
फुलोभरि रक्सी, लामो अरमठिएको सिङ् गरेको च्याङ्ग्रा, नाङ्लाभरि सेल रोटी लिएर स्यालकर गर्न आएका थिए मिङमरका इष्टहरू, उसका आफन्तहरू, मिङमरका लागि नीमालाई माग्न । विवाहको प्रस्ताव लिएर । तर नीमाको बाउले स्यालकर स्विकारेन । मान्दै मानेन, त्यो जाबो झुत्रेलाई आफ्नी छोरी दिन्न । सुम्देनमा अझ बढी रकम र गहना गुरिया दिन्छौँ भन्दा पनि नीमाको बाउ टसमस भएन । स्यालकर फिर्ता लगियो । बिहा पक्का हुन सकेन । नीमा गोठमा थिई, पछि थाहा पाई । घरमै भएकी भए पनि के नै गर्न सक्दथी र ? मन त्यसै ओइलायो ।
उनीहरूको संस्कृति अनुसार नीमामाथि विवाहको पहिलो हक फुपूको छोरा पासाङको नै लाग्दथ्यो । बाबुआमाले पनि पासाङसँग नीमाको विवाह गरिदिने निश्चय गरेका थिए । पासाङ धनी थियो । चालिस चालिसवटा चौंरीहरू थिए । थुप्रै भेँडा च्याङ्ग्राहरू । ठुलो, कमाइ गर्न नसक्नुको खेतबारी । वास्तवमा ऊ गाउँको ‘बरू’ नै थियो । थुप्रै मुङ्गाहरू, सुनका बुटिल, तर्वेन, चाँदीका गेन्जेन थिए उसको घरमा भरिपूर्ण । पासाङ पनि उसलाई औधी मन पराउँथ्यो । नीमा बाहेक अरूसँग बिहे गर्दिनँ भन्ने अठोट गरेको थियो । खै तर यो मनको केही ठेगानै नहुने ?
नीमा घरधन्दा सघाउँथी, दाउरा, स्याउला ल्याउँथी । याक, चौंरी चराउँथी । कोदाको बारीभरि । भिर, गराहरूमा याक, नाक, चौंरीहरू चरेको हेर्न उसलाई निक्कै मजा लाग्दथ्यो । लामालामा तिखा सिङ गरेका झ््यापुल्ले काला सेता रौं भएका निरीह पशु उसको एक सुसेलीमा हर्रर जम्मा हुन्थे । नीमा तिनीहरूको आङ सुमसुम््याउँथी । माया गर्दथी । जस्तै जक्खू, जङ्गली याक पनि उसको सामु आएर पाल्तु बन्दथ्यो । सुधो बन्दथ्यो । हिउँदमा कोदो काटिसकेपछि चौंरीगोठ तल बेंसीमा सारिन्थे । गर्मी बढ्दै जाँदा गोठहरू पनि माथि लेकका खर्कहरूमा लगिन्थे । निगालाको चित्राले छाप्रो हालेर, एउटा भोटे कुकुर साथी बनाएर अलिकति मकैको पिठो अलिकति आलु, अलिकति खर्पेसासँग रक्सी र भलु, जीवन गोसाइँकुन्ड जस्तै शान्त र सुन्दर थियो । जीवन गुराँसको फूलजस्तै ताजा र स्निग्ध थियो ।
नीमा निहँु पारी पारी मिङमरलाई भेट्न जान्थी, जङ्गलमा । गोठमा । उनीहरू सँगै बाँच्ने, सँगै मर्ने कसम खान्थे । रन, बन घन्काएर गीत गाउँथे –
“मो ले ने जाना सत् जाना
एन्जेन सेम्युजाम् ब्रोले यारके काङदाना !”
लोसार नजिक नजिक आइरहेको थियो । बारीमा उब्जेको कोदाको नीगु, रक्सी बनाइन्थ्यो । चामलको घिङ, गहँुको बाइकेङ, अलुम, लट्टेको बिउबाट मेन्दो घरघरै पकाइन्थ्यो । नयाँ नयाँ लुगाफाटा । मिठो मिठो खाना । रक्सी । नीगु । भलु । नाँचगान । पूजापाठ । लोसारको विशेषता थियो । रातो, सेतो, हरियो, पहेँलो, चौपाटे कपडाहरूको झन्डा बनाएर घरघरमा फहराइन्थ्यो । ‘ओम मणि पद्मे हँु’ को मन्त्र लेखिएको धर्बुजेले वातावरणलाई नै मुग्ध बनाउँथ्यो । पाङलिङ१ ले छाएको घरको छानामाथि चढेर घरमूलीहरू करूको पिठो र रक्सी हावामा उडाउँदै “है केलो, है केलो” गर्दै एकअर्काको गालामा पनि दल्ने गर्दथे । सातसात दिनसम्म खुब रमाइलो हुन्थ्यो । नीमा लुकीलुकी मिङमरलाई सेल रोटी खुवाउँथी । थपीथपी रक्सी खुवाएर टिल्ल पार्दथी । करूको पिठो लगाई दिने निहुँले ऊ मिङमरको गालामा चिमोटिदिन्थी । दिनहरू कत्ति सुखद थिए ? कत्ति रमाइला ?
बाउले गाइँगुइँ थाहा पाएछ क्यार ? नीमालाई एक्लैएक्लै टाढा टाढा जान दिन्नथ्यो । नीमा भाग्छे कि ? उसलाई भगाउँछन् कि ? चोरेर पो यो लाबे ब्या गर्ने हुन् कि ? डर थियो नीमाको बाउलाई ।
हुन त आफूले मन पराएको केटा रोजेर जानु वा मन परेकी केटीलाई बलजफ्ती उठाएर लैजानु कुनै नौलो कुरा थिएन । चलेकै चलन थियो, तर नीमा बाबुआमाको चित्त दुखाएर भाग्न चाहन्नथी । तर केही गर्दा पनि सिप लागेन । अनि नीमा मकै पिस्ने निहुँले घट्ट जान निस्किई । मिङमर र उसका साथीहरू नीमालाई पर्खेर बसेका थिए । उसलाई एउटाले पाखुरामा समातेर काँधमा बोक्यो । अर्काले दुवै खुट्टा अँठ्यायो । देखावटीका लागि नीमा रोई, चिच्याई । सँगै आएकी बहिनी घरतिर फर्की ।
धेरै खोजे नीमाका आमाबाउले । टाढाटाढासम्म मानिस पठाए । नीमा मिङमरको भिनाजुको घरमा लुकेर बसेकी थिई स्याङगुम्बामा । पत्तो लगाउन सकेनन् । केही दिनपछि रीति अनुसार मिङमरले ससुरालीमा स्यालकर२ पठाएको थियो । लाचार भएर उनीहरूले स्विकार्नै प¥यो । त्यसपछि उनीहरूको विवाह विधिपूर्वक भएको थियो ।
मिङमर त्यति सम्पन्न थिएन । खेतबारी थोरै थियो । याक, चौंरी थिएनन् गाईहरू मात्र थिए । नीमा बिहानभरि डोकामा सिस्नाको कलिला मुन्टा र पात बटुल्थी चिम्टाले च्यापीच्यापी । ताउलोभरि सिस्नो उमालेर त्यसमा एक, दुई मुठी मकैको पिठो घोलेर ढिँडो बनाउँथी । घरमा गरिबी थियो, तर सन्तुष्ट थिई । नीमा त्रिशूलीमा भोटेकोसी मिसिएझैँ मिङमरको जीवनमा विलीन हुन पुगेकी थिई । समाहित भएकी थिई ।
बस्ती झाँगिदै थियो । बाटोघाटो, नयाँ नयाँ मानिसहरू, विदेशी पर्यटकहरू थपिँदा थिए । नीमाले पनि एउटा पसल राख्ने जोहो गरी । बुबाआमा, इष्टमित्र, सरसापट । गोसाइँकुण्डमा लाग्ने जनैपुर्णेको जात्रामा खानाको पसल राखियो । हजारांै सङ्ख्यामा आउने यात्रुहरू, धामीझाँक्री, श्रद्धालु भक्तजन अनि रमितेहरूको लस्कर । साउनको मुसलधारे पानी । चिप्लो साँघुरो बाटो । ठाडो उकालो । पातलो हावा । साढे बाह् हजार फिटको उँचाइ ......
नीमा पाटीभन्दा केही माथिको डाँडामा बसेर गोसाइँकुण्डलाई नियाल्दथी । उत्तरपूर्वको अग्लो सेतो हिमच्छादित चुचुरोको छायाँ पानीमा परेर भव्य दृश्य उत्पन्न गर्दथ्यो । कुण्डको पानीमा छाल उठेर बनेका विभिन्न आकृतिहरूबिच ऊ नीलकण्ठ महादेवलाई खोज्दथी, नागकुण्डको निलो पानीतिर उसका आँखा टिक्न सक्दैनथे । कहाली लाग्दथ्यो । डर लाग्दथ्यो । त्यहाँ अजङ्गको नाग रहेको जनविश्वासले ऊ झन् त्रस्त हुन्थी ।
नीमा लौरीविनायकको जङ्गलबाट दाउरा ल्याउँथी । तल कुण्डबाट पानी, चिया, बिस्कुट, खाना । चार पाँच दिनको जात्रामा राम्रै बिक्री भयो । राम्रो आम्दानी भयो । उसको हौसला बढ्यो । ऊ प्रोत्साहित भई, अरूले जस्तै उसले पनि एउटा स्थायी होटल चलाउने विचार गरी ।
होटलको लागि ठुलो घर बनाउने पुँजी थिएन । नजिकैको जङ्गलबाट लडेपडेका लाठाहरू ल्याएर मान्द्रो, प्लास्टिकले छाएर, एउटा छाप्रो उभ्याइछाडी, गोसाइँकुण्डबाट लाङटाङ जाने बाटाको दोसाँधमा । चिया, बिस्कुट, चाउचाउ, खाना र चार, पाँच जना सुत्न हुने निगालाको मचान । चल्यो होटल मजैले । कहिले विदेशी टुरिस्टहरू आउँथे, कहिले नेपाली कर्मचारीहरू । विदेशीसँगको व्यवहार उसलाई निक्कै मन पर्दथ्यो । टिबटन ब्रेड ... चाउचाउ ... एग । मसरुम सुप ... पोट््याटो ... वन ... टु ... फाइव । नीमा केही अङग्रेजी पनि बोलन लागेकी थिई ।
“मिठा, राम्रो, नमस्ते” पैसाको खिचलो छैन । जस्तो दियो उस्तै खाने यी विदेशी पर्यटकहरू ज्यादै मन पर्दथे नीमालाई । ऊ सधैँ सधैँ विदेशीहरू नै आइदिऊन् भन्ने चाहना राख्दथी ।
नीमाको होटल चलेकामा इखाउने धेरै थिए । रिस गर्नेहरूको सह पाएर पैसालोलुप कर्मचारीहरू केही झार्न पाइन्छ कि भन्ने दाउमा थिए –
– कसको अनुमतिले यो होटल खोलेको ?
– सरकारी जग्गामा यसरी होटल राख्न पाइन्छ ?
– हटा, यो होटल ।
– भत्काइदिन्छौँ यो होटल ।
मिङमर केही बोल्न सक्दैनथ्यो । ऊ लुकेर बस्दथ्यो । नीमाले नै सामना गर्नुपर्दथ्यो तिनीहरूको हप्की र दप्कीको । नीमा बिलौना गर्दथी । दुःखपुकारा गर्दथी । कुखुरा काट्दथी । रक्सी खुवाउँदथी । कर्मचारीरूलाई थामथुम पार्दथी ।
अनि एउटा पहिरो गयो नीमाको आत्मामा । उसको स्त्रीत्वमा । मिङमर पसलको सामान किन्न धुन्चे गएको थियो । नीमा एक्लै थिई । लजमा बस्न कोही टुरिस्ट पनि आएका थिएनन् । ऊ प्रतीक्षारत थिई । कोही आउँछन् कि ? साँझको झिसमिसे सुरु भैसकेको थियो । चुल्हामा दनदनी आगो बालेर ऊ मनमा अनेक थरीका कुरा गुनिरहेकी थिई । बुट बजार्दै तिन जना आइपुगे ।
“ए नाना चब मुवा ?”
“मुवा” नीमालाई आफ्नो भाषामा कुरा गरिदिएको निक्कै मन परेको थियो । ऊ खुसी भएकी थिई । “खाना पनि छ । बास पनि छ” ऊ पनि मस्किइएकी थिई ।
चुल्होमा दन्किएको आगो ताप्दै, चौंरीको घिउमा भुटेको तातो रक्सी पिउँदै उनीहरू अश्लील, अश्लील कुरा गर्न लागेका थिए । मिङमर अझै आइपुगेको थिएन । घरबाट पनि कोही साथी बस्न आइपुगेका थिएनन् । कताकता नीमालाई डर पनि लागेको थियो । ऊ सशङ्कित भएकी थिई । खाना खाएर उनीहरू सुते । नीमा पनि भकारीले दैलो ढप्काएर सुती आँसीलाई छेउमै राखेर ।
कसैको घिनलाग्दो हात नीमाको आँगमा सगबगाइरहेको चाल पाएर अचानक उसको निद्रा टुट्यो । ऊ सचेत हुनुअगावै दुवै बलिष्ट हातले उसलाई विवश पारिसकेको थियो । नीमाले आफूलाई छुटाउने, आफूलाई बचाउने अनेकौँ प्रयास गरी, तर तिन तिन जना मर्दको सामु उसको केही जोर चलेन । उसलाई क्षत्तविक्षत पारियो । उसको शरीरमा तातो भाला रोपियो, ऊ छिद्र छिद्र भएकी थिई । विदीर्ण विदीर्ण । पालै पालो घाइते तुल्याएर पापीहरू एकाबिहानै अलप भएका थिए ।
आफ्नो घाउ कसलाई देखाउने ? कोसँग पोख्ने ? न्याय कसले दिन्छ ? नीमाले पिर चुपचाप लागेर पिएकी थिई ।
होटलमा बस्दा एउटा नजानिँदो त्रासले घेरिरहन्थ्यो नीमालाई । ऊ बास बस्न आउने प्रत्येक मानिसलाई बलात्कारीको रूपमा हेर्न लागेकी थिई । कुनै रात एक्लै बस्नुपर्दा ऊ सासूलाई बोलाउँथी । ससुरालाई बोलाउँथी । तर पनि उसको सुरक्षाको अभिभारा बोक्न सक्ने सामथ्र्य उनीहरूमा छ जस्तो उसलाई लाग्दैनथ्यो । होटल छाडेर अर्कै व्यवसाय गर्ने, अर्कै ठाउँमा जाने भनेर ऊ बारम्बार मिङमरलाई भन्दथी । त्यत्ति राम्रो चलेको होटल ऊ छोड्न चाहन्नथ्यो । मिङमरलाई पैसाको चस्को पसिसकेको थियो । ऊ हरतरहले पैसा कमाउने, धन थुपार्ने जुक्ति मात्र गर्दथ्यो । बिहा भएको निकै वर्ष भैसक्दा पनि उसको गर्भ रहन सकेको थिएन ।
मिङमर केही टाढा टाढा हुँदै गइरहेको थियो । रक्सी पिएर ऊ बिहा हुनुभन्दा अघिको कुरा झिक्थ्यो । नीमाको बाउलाई गाली गर्दथ्यो । स्वेच्छाले बिहा नगरिदिएकोमा । अनि ऊ धक्कु लगाउँथ्यो । तेरो बाउसँगभन्दा बढी पैसा छ । तँ बैला होस् अर्की स्वास्नी ल्याउँछु ।
नीमा खिन्न हुन्थी, दिक्क हुन्थी । कार्सिकै चोङमाको बेला ध्याङमा गई न्यूगेन बसेर आफ्नो कुल देउता च्याङग्रीसँग प्रेम सफल होस्, लोग्नेको रूपमा मिङमरलाई पाउँ भनी व्रत लिएको कुरा सम्झन्थी । अनि रोएर आफ्नो मनको बह पखाल्ने गर्दथी । बिस्तारै बिस्तारै उसले अनेक कुरा सुन्न लागेकी थिई । जसको परिणाम आजको यो झगडा थियो ।
कुकुरको भुकाइले नीमाको तन्द्रा भङ्ग भयो । बँदेल आएछ क्यार ? ऊ चाल मारेर सुन्न लागी । औडाहा चलिरह्यो । निद्रा आएन । छट्पट छट्पट भइरह्यो । पर भाले बास्यो । बिहान हुन लागेछ ! ऊ उठी र घरधन्दामा लागी ।
धेरै प्रयास गर्दा पनि उनीहरूमा मेल हुन सकेन । फाटो झन् झन् बढ्दै गयो । मिङमरप्रतिको आस्था, विश्वास सबै धमिराले खाएको खामोजस्तो लाग्यो नीमालाई । एकोहोरो माया के लगाएर बस्नू ? मिङमर दोस्रो बिहा गर्न चाहन्छ भने गरोस् । म बाधा हुत्र । मेरा लागि पनि बाटाहरू होलान् ? नीमा माइत आएर बसी ।
गाउँका थुप्रै केटाहरूले नीमासँग बिहा गर्ने प्रस्ताव राखे । तर अर्को बिहा गर्ने इच्छा नीमामा कहिल्यै पलाएन । दोस्रो बिहा गर्ने कल्पना नै आएन ।
मिङमर उसलाई बोलाउन एक दुई पटक आयो, तर नीमा जान मानिन । एकपटक फाटेको मन जोडिँदै जोडिएन । एकपटक टुट्यो, टुटी नै रह्यो सदाका लागी ।
नीमा माइती बसेकोमा मिङमर नाना थरीका लाञ्छना लगाउँथ्यो । भए नभएको अभियोग लगाउँथ्यो । त्यो वलात्कारको घटनालाई ऊ मानिसहरूलाई सुनाइहिँड्थ्यो । नीमा झन् झन् मर्माहत हुँदै गई । भाग्यले नै छकाएपछि के गर्ने ? नीमा चुपचाप लागेर सहन्थी । कुनै विरोध गरिन ।
अन्तमा मिङमरले नीमालाई त्यागेर अर्की ल्याउने कुरा चलायो । पञ्चायत बोलायो । गाउँभरिका पञ्च, भद्र भलाद्मी, लामा झाँक्री सबै जम्मा भए । छोडपत्र नै गरिने भयो । मिलोमतो हुन सकेन । एउटा नेपाली कागत मगाइयो । छोडपत्रको मस्यौदा लेखेर दुवैले आआफ्नो औँठाको छाप लगाए । परम्परा अनुसार अलिकति काँचो धागो ल्याइयो । ती दुवैले धागाको दुई टुप्पा समाए । मुखियाले धागो बिचबाट काटिदिए । चलन अनुसार ती दुई विपरीत दिशातर्फ लागे । सिङ्गथाजी३ भयो । कानुनी र सामाजिक रीति अनुसार उनीहरूको सम्बन्ध विच्छेद भयो । दाम्पत्य जीवनको अन्त भयो । पतिपत्नीको नाता रहेन । पारपाचुके भयो । त्यसपछि नीमालाई एकक्षण पनि पन्चैतीमा बस्न मन लागेन । मन कस्तो कस्तो भारी भारी । रूँ, रूँ.जस्तो । ऊ सरासरी कोठामा पसी र घोप्टो परेर रुन लागी ।
धेरै बेरको रुवाइपछि नीमाको मन हलुँङ्गो भयो । ऊ उठी मुख, हात धुन । बाहिर उसको बुबासँग एउटा नौलो मानिस निकै घुलमिल भएर कुरा गरिरहेको थियो । नीमालाई चिनेचिने जस्तो लाग्यो । को होला ? ऊ केही नजिकै गई । पासाङ रहेछ । बौद्धमा खोलिएका आफ्नो कारखानाको लागि केरुङबाट उन लिन आजै काठमाडौँबाट आएको ।
जब नीमा केही नजिकै पुगी, पासाङले उसतिर फर्कदै भन्यो– नाना, मैले सबै थाहा पाएँ । अब तिमी नाइँ भन्न पाउन्नौ, मैसँग जानुपर्दछ । मैले अझै बिहा गरेको छुइनँ ।
अचानक नीमालाई सारा संसार सिन्दूरी भएजस्तो लाग्यो । त्रिशूली गङ्गा हाँसेजस्तो गोसाइँकुण्ड मुस्कुराएजस्तो । प्रकृति नै आनन्दातिरेकमा उन्मत्त भएजस्तो । पर.... लाङटाङको चुचुरामा सूर्यास्तको किरणले चुम्बन ग¥यो । नीमा लाजले भुतुक्क भई । उसका गाला राता भए .....

(साभार “समयको घाउ” गरिमा, वर्ष ६, अङ्क ७, पूर्णाङ्क ६७, असार २०४५)
.

शब्दार्थः
१. सल्लाको फलेक, २.सौगात, ३.ं छोडपत्र

मृत्यु पर्खिरहेछ, कथा, राशि पाण्डे

मृत्यु पर्खिरहेछ, कथा, राशि पाण्डे

सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाई चारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ ।
के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के काम ? मासु खान हुन्न, हलो जोत्न हुन्न । बित्थामा आधा दुध त त्यसैलाई पोस्दै ठिक हुन्छ । फेरि तिन, चार वर्ष पाल्यो, देवीलाई बलि चढाउनेहरूले कति नै दिइहाल्छन् र ? तिन, चार सय त हो नि ? दुध नै हजार–पन्ध्र्र्र सयको खाइदिन्छ ..... तराईमा त थुप्रै पैसा दिन्छ रे पाडाको पनि ? के गर्नु त्यहाँ दिएर ? लैजान सकिने होइन ?
घाँसपात पाए त के थियो नाइँ .... दुहुनीलाई त एक भारी हरियो खोज्न कति गारो परिसक्यो ? वनपालेले अचेल स्याउलै काट्न दिन्न । कसले पाल्न सकोस् पाडो ? फाल्दिनै प¥यो । घरधनीबुढी अठोट गर्छिन् ..... पाडी पाए त, ब्याँउछ, दुध दिन्छ, गोठ बढाउँछ भन्नु ?
“इजा, इजा बच्चा निस्कन लाग्यो ।” सानी छोरी चिच्याउँछे । घरधनीबुढी हत्तारिँदै बाहिर निस्कन्छिन् “इजा, बच्चा नफाल्ने है ? पाडो भए पनि नफाल्ने, वीरचन्दको झैँ ठुलो राँगो बनाउनुपर्दछ हुन्न ?”
“जाबो एउटा भैँसीका लागि एउटा सिङ्गै राँगो पाल्न सकिन्छ ? गाउँमा एउटा भए त पुगिहाल्यो नि” उनी हकार्दछिन् ।
“चार माना दुध दिनहुँ त्यसैलाई चाहिन्छ ? चार माना दुधको कति घिउ बन्छ, भन् त ?”
“सार्कीलाई बोलाएर ल्याऊँ ? उसले पाडो लगिहाल्छ” ठुलो छोरो सुझाउ दिन्छ ।
“पर्दैन, सार्कीले काटेर खान्छ ? हामीलाई पाप मात्र लाग्ने हो । चौलानेको बगरमा राखिदियो, जति दिनसम्म आयु लेखेको छ बाँचोस् न । हामीहरू बित्थामा पापको भागी किन बन्ने ?”
भैँसी व्यथाले छट्पटिरहन्छ । सोत¥याङ सुतेर चार खुट्टा फाली कनिरहेको छ । पानी फोकासँगै बच्चाको अगाडिको खुट्टा बाहिर निस्कन लागेको छ । सुस्तरी, सुस्तरी बच्चाको टाउको र क्रमशः पुरै जिउ फ्यात्त निस्कन्छ । पाडो रहेछ । बच्चाको खुट्टा समाती घरधनीबुढी घर्रर घिसार्दछिन् । पर कुनामा पु¥याउँछिन्, भैँसीले नदेख्ने ठाउँमा ।
भैँसी जुरुक्क उठेर फरक्क फर्कन्छ, पाडो छैन । पर कुनामा पाडो वाइँ ऽ ऽ गर्छ । आमासम्म उसको आवाज पुग्न सक्दैन । माउ र पाडाको बिछोड गराइन्छ । आमाबाट बच्चा खोसिन्छ । आफ्नो थोपाथोपा रगतले सिँचेर दस महिनासम्म गर्भमा राखी पोषण गरेको बच्चा, आज गर्भबाट निस्कनासाथ, पृथ्वीमा आउनासाथ अलग्याइन्छ, छुट्ट्याइन्छ । बात्सल्यले एक फेर म्वाइँ खान पाएको होइन, ममत्वको एक शब्द पोख्न पाएको होइन । त्यति कष्ट गरेर जन्माएको बच्चा, एक नजर लगाउन पाएको होइन ।
भैँसी वाइँ ऽ ऽ वाइँ ऽ गरी बच्चा खोज्दछ, फर्कन्छ– पछाडि यताउता चारैतिर । कतै बच्चा छैन । बच्चाको गन्धसम्म आउँदैन । अलिकति पिल्लिएको रगत, केही पानीले भिजेको जस्तै टाटो छ भँुइमा । भैँसी त्यस टाटालाई सुँघन खोज्दछ, चाट्न खोज्दछ । उसलाई सुँघ्न पनि दिँदैनन् केटाकेटीहरूले । आमाले तिनीहरूलाई खबरदार गरेकी छिन् “साल सुँघ्न नदिनु, बच्चाको गन्ध पायो भने भैँसीले दुध दिन मान्दैन” भैँसी फ्वाँ फ्वाँ गरी हकार्दछ, केटाकेटीहरूलाई । अनि फेरि सालले भिजेको माटो सुघ्न लम्कन्छे । बलियो गरी बाँधेको डोरी तनक्क तन्कन्छ, चुँडिएला झंै गरी । स्वाट्ट, लौरो बजारिन्छ थुतुनामा उत्तिखेर । तपक्क दुई थोपा आँसु चुहिन्छ भैँसीका आँखाबाट पीडाले । भैंँसी फोस्रो आक्रोश पोख्छ सिङ हल्लाएर ।
साल अझै झरेको छैन, तुर्लङ्ग झुन्डिरहेको छ । भैँसी घाँटी लम्काएर जिब्राले चाट्न खोज्दछे । “साल खान नदिनु, भैँसीको दुध घट्छ” आज्ञाकारी छोराछोरीहरू भैँसीलाई आफ्नो सालसम्म चाट्न दिन्नन् । लौरो देखाएर तर्साउँछन् ।
बोराले बेह्रिएको पाडो छट्पटिरहेको छ । उनी बच्चालाई बोकेर बगरतिर हिँडिरहेकी छिन् । चौलाने खोला आइपुग्छ । बच्चा फाल्ने एक सुरक्षित ठाउँ छ, नदी छेउमा । घरधनीबुढी पाडालाई थ्याच्च राखिदिन्छिन् ।
वाँइँय ..... पाडो उनलाई बोलाउँछ । सुँध्छ यताउता । थुन खोजिरहेछ ऊ, उनैलाई आफ्नी आमा ठानेर । जिउ राम्ररी सुकिसकेको छैन । काँपिरहेछ जाडाले थरथर । बिचरो निरीह प्राणी, जन्मने बित्तिकै टुहुरो बनाइएको बच्चा, मर्नका लागि बगरमा मिल्काइएको बच्चा, आफ्नी आमालाई “आमा” सम्म भन्न नपाएको मुखसम्म हेर्न नपाएको बच्चा । वाइँ ऽ ऽ वाइँ गरी आफ्नै हत्यारालाई आमा सम्झिएर स्नेह पोखिरहेछ, स्नेह मागिरहेछ ।
बुढी तटस्थ छिन् । मुखमा कुनै किसिमको भाव छैन । निर्विकार भएकी छिन् उनी । आमा, सबै आमा एकै त हुँदा हुन् । जननी जननीमा त भेद नहुनुपर्ने ? प्रसव वेदना मानिस र भैँसीमा उस्तै त हुन्छ होला नि ? आआफ्नो सन्तानप्रति, आफ्नो रक्त, मांसको पिण्डप्रति उत्तिकै त माया लाग्छ होला नि ? त्यसो भए किन आफ्नो सानो स्वार्थको लागि निर्दोष शिशुको हत्या गरिन्छ ? उसको बाँच्ने अधिकार खोसिन्छ, उसलाई तड्पी तड्पी मर्नका लागि मिल्काइन्छ ? घरधनीबुढी घरतिर फर्कन्छिन् ।
पाडो वाइँ ऽ ऽ वाइँ ऽ गरी उभिन खोज्छ । उनलाई पच्छयाउन खोज्छ । भर्खर जन्म लिएको बच्चा, चार खुट्टाले उभिने प्रथम प्रयास । खुट्टा लरखराउँछ, साथ दिन्न खुट्टाले ऊ लड्छ । थेचारिन्छ भुइँमा । ढुङ्गै, ढुङ्गाको सारो भुइँ शरीरभरि दर्द व्याप्त हुन्छ । करुण स्वर निस्कन्छ ..... वाइँ ऽ ऽ... ऊ दीन नजरले लाई ओझेल नहुन्जेल नजरले पच्छ्याइरहन्छ ........
भर्खर ब्याएको भैँसीको पेट खर्लप्प भएको छ । खड्कुलोभरि कुँडो राखिदिन्छन् । भंैसी सुँघ्छ र खान लाग्छ । खाँदै जान्छ र मुखबाट बच्चालाई बोलाउने आवाज पनि निकाल्दै जान्छ । उसलाई बच्चा पर बगरमा मृत्यु कुरिरहेको छ भन्ने अनुमान नै छैन । बच्चा जन्मिएको त पक्कै हो । कहाँ गयो ऊ ? सोच्न लाग्छ । सर् सर् कोही हिँडेको कोही चलेको आवाज आउँछ । भैँसी वाइँ गरी फर्कन्छ ।
एउटा कुकुर खानाको गन्ध पाएर आइरहेको छ । कुकुर झरेको साल चाट्न लाग्छ । फ्वाँ, फ्वाँ गरी भैँसीले तर्साउँछ कुकुरलाई । धूर्त कुकुर अटेरी भइदिन्छ । उसलाई थाहा छ मोटो डोरीले बाँधिएको भैँसी, उसको केही बिगार गर्न सक्दैन । उसलाई छुन पनि सक्दैन केको डर ? ऊ निर्धक्क भएर खाइरहन्छ ।
भैँसी कुँडो रित्याउँछ । साल पनि झर्छ । बच्चाको चालचुल कतैबाट पाइँदैन । उसको सम्पूर्ण ममत्व हाहाकार गर्न लाग्छ । सम्पूर्ण वात्सल्य खनिएर आउँछ । ऊ खड्कुलो सुँध्छ । मानिसलाई सुँध्छ । कसैबाट आफ्नो अंशको गन्धसम्म पाउँदैन । कसैबाट आफ्नो मुटुको टुक्राको वाससम्म आउँदैन । ऊ कुकुरलाई सुँघ्न लम्कन्छ । कुकुर उसको थुतुनो ल्याप्प चाटी दिन्छ, पुच्छर हल्लाउँदै । ऊ सिङ झटारेर हिर्काउँछ कुकुरलाई । यसैले मेरो बच्चा खाइदियो कि ? कुकुर क्वाइँ गरी पर भाग्छ । ऊ फ्वाँ ....फ्वाँ ...... गरी आफ्नो नैराश्य देखाउँछ । कल्चौँडो दुधले टन्न भरिएको छ । गानिएर दुख्न लागिरहेछ । टन्कन लाग्छ दुधको फाँचो । ऊ छटपटाउँन लाग्छ । पाडो खोज्दछ धँइँधुइँती । दाम्लो चुडाउला झैँ गर्दछ ।
घरधनीबुढी पारो लिएर दुध दुहुन आइ पुग्छिन् । भैँसीलाई सुमसुम्याउछिन् । माया गर्छिन्, स्वार्थी माया । भैँसी उनलाई सुँध्छ । मालिक हुन् बच्चा होइन । खै मेरो बच्चा ? खै मेरो लाल ? थुन छाम्दछिन् । पानी छ्यापेर कल्चौँडो सफा पार्दछिन्, दुध निचोर्दछिन् । पहँेलो जमेको दुध सिरिर्र झर्दछ ।
भैँसी सन्चो मान्दछ । फरक्क फर्केर सुँघ्दछ, दुध खाने को हो ? आफ्नो बच्चा होइन । यो त मानिस हो । दुधचोर । कहाँ गयो त मेरो बच्चा ? भैँसी छटपटिन्छ । खुट्टा झटार्दछ । लतार्छ दुध दुहन दिन्न ।
“च्व.... च्व...... ह्.......ह्.... घरधनीबुढी भैँसीलाई फुल्याउने प्रयास गर्दछिन् । भैँसी फनफनी किलामा घुम्दछे । ह...... ह.... चुप...... । उनी ठुलो स्वरमा भैँसीलाई हकार्दछिन् । छोरी भैँैसीलाई गुँड चटाउन लाग्दछे । भैँसी केही शान्त हुन्छ । दुहेर सकिन्छ । भैँसीको अाँखाभरि आँसु आउँछ, पारोभरि दुध ।
पाडो बगरमा कठ्याङ्ग्रिरहेको छ, कराइरहेको छ । ऊ घाँटी तन्काएर चारैतिर हेर्न लाग्छ । सेतो चामलको चौलानी जस्तो पानी आफ्नो गतिमा बगिरहेछ । एकातिर ठाडो भिर छ अक्करको । कतै छैन उक्लने ठाउँ । ढुङ्गा सुँग्घ्छ ऊ ? चाट्छ । निर्जीव ढुङ्गा केही बोल्दैन, केही भन्दैन । ऊ यताउता आमालाई खोज्छ ..... खानेकुरा खोज्छ । थुन खोज्छ– एउटा अन्तःप्रेरणा ।
पर खोलाभित्र ढुङ्गाहरू ठक्कर खाएको, पर पारि किराहरू कराएको आवाज आउँछ । प्रत्येक आवाजलाई ऊ आफ्नी आमाको आवाज ठान्दै नियाल्छ शिर उचाली, उचाली । हेर्छ, करुण आवाजमा पुकार्छ । पर गोठ घरमा मोटो साङ्लाले बाँधिएकी उसको आमासम्म, उसको बिलौना पुग्न सक्दैन । उसको क्रन्दन पुग्न सक्दैन । भोकले पेट खर्लप्प भैसकेको छ । आफ्नो वरिवरिका सबै चिजलाई खानेकुरा सम्झिएर ऊ सुँघ्छ, चाट्छ । चिसो हावाको सिरेटो सुइँसुइँती चलिरहेछ । साँझ झम्किँदै गइरहेछ । उसका सबै आशाका त्यान्द्राहरू क्षीण, क्षीण हँुदैै गैरहेछन् । लाचार ऊ घाँटी सोत्त¥याङ्ग पार्छ भुइँमा । एकै छिनमा घाँटी दुख्न थाल्छ । ऊ टाउको उठाउँछ र बस्छ । यताउता हेर्छ । उठ्छ । हिँड्न खोज्छ । साँघुरो ठाउँ ऊ धरमरिन्छ । फेरि थ्याच्च बस्छ ।
बिहानको मिर्मिरे उज्यालो फैलिन लाग्छ । पाडो आँखा खोल्छ । पर खोलाको डिलमाथि कोही हिँडिरहेको छ । ऊ वाइँ ऽ ऽ गरी बोलाउँछ । कुनै प्रतिक्रिया हुन्न । ऊ उभिन्छ र फेरि वाँइँ ऽ ऽ गर्छ । गोडा थरथर काँप्न लाग्दछन् । रन्थनिएर लड्छ । ड्वाङ्ङ । थुतुनो ढुङ्गामा ठोकिन्छ । सर्रर तातो तरल पदार्थ बग्छ नाकबाट । चाट्छ ऊ जिब्राले प्रथम स्वाद– नुनिलो रगतको, आफ्नै रगतको । ऊ फेरि चाट्छ, के हो ? चिन्न सक्दैन । दुध, रगत भाउन्न हुन्छ उसलाई । ढल्छ ऊ चारै खुट्टा तन्काएर । लमतन्न भै दिन्छ । उठ्छ, बस्छ ।
पर पारि खोलाको किनारमा केही भैँँसीहरू चर्न लागिरहेका छन् । एकोहोरो वाइँ ऽऽ वाइँ ऽ गरी कराउन लाग्छ । एउटा भैँसीले वाइँ ऽ ऽ गरी जवाफ फर्काउँछ । ऊ हर्षातिरेकमा सिधै दौडेर पुग्न खोज्छ । झ्वामल्याङ्ग पानीमा खस्छ ऊ । पानीमा च्वाप्प डुब्छ । टाउको मात्र अलगन्छ । पानीको बगाइसँगै ऊ पनि बग्न लाग्छ । टुलुटुलु उसका आँखाहरू पर पारिका भैँसीहरूमै केन्द्रित रहेका हुन्छन् । ऊ तरेर पारि जान खोज्छ । पानीको तेजले उसलाई खुट्टा टेक्न दिन्न, तैरिनै दिन्न । भर्खर एक दिनको बच्चो, भोको प्यासो । ऊ उबडुब गर्न लाग्छ । चिसाले उसका गोडा, मुटु सबै जमे जस्तो हुन्छ ।
निकै बेरपछि उसको होस खुल्छ, पाडो थाहा पाउन्न कसरी फेरि बगरमा पुग्यो ? पर एउटा मानिस कतै गैरहेको छ, ऊ त्यसको पछि लाग्न खोज्छ । अप्ठेरो बाटो ऊ उक्लन सक्दैन । पर आमाको आवाज आए जस्तो लाग्छ उसलाई । आमाले बोलाइरहे जस्तो लाग्छ उसलाई । आवाजलाई पछ्याएर ऊ हिँड्न खोज्छ । कराउन खोज्छ । स्वर कताकता कण्ठमै हराउँछ । आशालु नजर यताउता हेर्छ । आमाको कतै अत्तोपत्तो छैन । आशैआशामा दिन बित्छ । रात आउँछ । फेरि नयाँ सूर्योदय हुन्छ । नयाँ रात आउँछ । केही खानेकुरै भएन, भोकले भाउन्न हुन लाग्छ । आकुलब्याकुल हुन्छ । ऊ विकल भएर दौडन्छ । लड्छ । बेहोस हुन्छ । जाग्छ । कतै कुनै आशाको त्यान्द्रोसम्म छैन । पर स्यालको हुँइया सुनिन्छ । ऊ वाइँ ऽ गरी बोलाउँछ । तर स्वर फुट्दैन, आवाज निस्कँदैन ।
काँ .... काँ ........ काग कराउन लाग्छन् । बिहानको मिर्मिरे चारैतिर फैलिन सुरु भएको छ । जीवनको चौथो सूर्योदय । पाडो टाउको उठाएर हेर्न खोज्छ । शक्ति नै छैन शिर उठाउने, सूर्यलाई नमस्कार गर्ने । काग अझ नजिकिन्छ । टाउको हल्लाएर काग धपाउने कोसिस गर्छ ऊ । कान पनि मुस्किलले हल्लाउन समर्थ हुन्छ । काग टाउकै नजिक आइपुग्छ । क्वाप्प ठुँङछ आँखामा । पीडाको लहर शरीरभरि व्याप्त हुन्छ । ऊ अाँखा झिमिक्क पार्छ । काग पर भाग्छ ।
काँ.....काँ.... अरू कागहरू पनि आइपुग्छन् ।.... थुप्रै थुपै्र कागहरू.... पाडो अाँखा खोल्दछ । केही केटाकेटीहरू कागलाई ढुङ्गाले हिर्काएर धपाइरहेका छन् । कति बेलासम्म उनीहरू कागलाई धपाउन सक्छन् र ? कति दिनसम्म तिनीहरू पाडाको पहरेदारी गर्न सक्छन् ?
पर माथि आकाशमा गिद्धहरू उडिरहेका छन् । उसलाई केन्द्रबिन्दु बनाएर ? ऊ आफ्नी आमालाई एकपल्ट फेरि सम्झन खोज्छ । कुनै आकार, कुनै आकृति उसको मानसपटलमा बन्दैन । अनि झल्याँस्स त्यो घरधनीबुढीलाई सम्झन पुग्छ । आमा त्यही हो कि ? किन हो, ऊ ती बुढीलाई आमाको रूपमा स्वीकार्न सक्दैन । पाडो तन्द्रा अवस्थामा पुग्छ– अनि घरधनीबुढीले लगाएको फरिया पखेटा बन्छ, त्यो बुढीको अनुहार गिद्धजस्तै आकाशमा उड्न लाग्छ । पाडो ती गिद्धहरूलाई ठम्याउन खोज्छ, राम्ररी चिन्न खोज्दछ, बुढीकै अनुहार उसको आँखामा घुमिरहन्छ, झलझली मान्छेकै चित्र उसको नानीमा नाँचिरहन्छ .............
(“मृत्यु पर्खिरहेछ” गरिमा, वर्ष ५, अङ्क ७, पूर्णाङ्क ५५, असार २०४४)

देउकी (कथा) राशि पाण्डे

देउकी (कथा) राशि पाण्डे

हिँडाइको क्रममा जब तपाईंं कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेका पाइतालाका डोबहरू पछ््याउनु हुन्छ, आफ्नो वरपरका दृश्यहरूमा विहङ्गम दृष्टिपात गर्नुहुन्छ । कहाली लागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला ? पाइलाका गोरेटाहरूमा उकाली ओह्राली आइ नै रहन्छन्, भिर टाकुरा, फाँटहरू परी नै रहन्छन्, तर जीवनको गोरेटामा त उकाली मात्र छ, चढाइ मात्र छ । गन्तव्य कहाँ छ ? थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ, मात्र हिँड्नु । हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर ........
जीवनको यति लामो गोरेटो पहिल्याउँदै, पछ््याउँदै, एकक्षण बिसाएर जब म आफ्नो चारैतिर दृष्टिपात गर्छु, आफ्नो जीवनको सिंहावलोकन गर्छु, एउटा विशाल क्यानभास फैलिदिन्छ मेरो चारैतिर । ती चित्रहरूलाई तपाईं देख्न सक्नुहुन्न, छुन सक्नुहुन्न, तर कताकता भित्र मनमस्तिष्कमा ती चित्रहरू सगबगाउँछन्, चलमलाउँछन् ।
क्यानभासमा एउटा विस्तृत पहाड, रूखजङ्गल, बस्तीहरू छन् । एउटा सम्म परेको डाँडामा मन्दिर छ – भगवती मेलौली सैनीको । छेउमै झ्याम्म परेको सिलङ्गाको रूख अनि नजीकै ठुलो अग्लो साङ्गलोको झुला । यत्रतत्र ससाना काठका किलाहरू गाडिएका छन्, जसमा विभिन्न किसिमका, विभिन्न आकृतिका घण्टहरू झुन्ड्याइएका छन्, नेजा१, पताकाहरू फरफराइरहेका । मन्दिरको सामुन्ने विशाल चउर छ, केही गाई, भैँैसी, बाख्राहरू चरिरहेका । चउरको छेउछाउमा ढुङ्गाको गारो र स्लेटले छाएका, कमेरो पोतेका घरहरू छन्; बस्ती छ, ढुङ्गा जत्तिकै बलियो शरीर र कमेरो जत्तिकै निर्मल मन भएका देउकीहरूको– मेलौली ।
हो, तपाईंले पनि सुन्नु नै भएको होला ? तल्लो स्वराड, केशरपुर, मेलौली, देहीगाउँ, पेरिस । जे भने पनि हुन्छ । जे नाम दिए पनि हुन्छ । वास्तविकतामा केही फरक आउन्न । बाल्यकालको सम्झना गर्छु । कत्ति रमाइलो थियो, त्यो उमेर, त्यो समय ? इजा२, बजै र म मात्र थियौँ । घरमा कोही लोग्नेमानिस थिएनन् । बुवाको अनुहार सम्झन खोज्छु । अनेकौँ अनेकौँ अनुहारहरू आँखामा नाच्न लाग्दछन् । यिनमध्ये, कुनचाहिँ मेरा बुबा हुन् ? ठम््याउन सक्दिनँ । निक््र्योल गर्न सक्दिनँ । मेरा कुनै बुबा नै थिएनन्, कोही सिङ्गो बुबा नै थिएनन् । आफ्नै नाम दिने, माया दिने । यिनको बुबाको नाम के भनी एकपटक एउटा बाहिरिया मानिसले इजासँग सोधेथ्यो । एकछिन अकमक्किएर इजाले बताउनु भएथ्यो “संसार छन् ।” हो, संसार छन् । यो सँसार छन् कुनै खास व्यक्तिको नाम होइन, जात होइन । कुनै खास व्यक्तिलाई यस नामले लक्षित गर्दैन । असङ्ख््य असङ्ख््य व्यक्तिहरू जो दुईचार रुपियाँको लोभ देखाएर आफ्नो वासना तृप्त गर्न आउँछन्, ती सबैको सामूहिक नाम हो – ‘संसार छन्’ ।
एक्ली छोरी थिएँ । बजै, इजाको प्यार कसैलाई भाग लाग्दैनथ्यो । उनीहरूको माया, स्नेह पोख्ने भाँडो म मात्र थिएँ । बजै निक्कै राम्री हुनुहुन्थ्यो । गोरी, सुलुत्त परेको नाकमुख, हिस्सी परेकी । उहाँ अरूजस्तै घाँघरो३ नलगाई साडी लगाउनुहुन्थ्यो । आफ्नो जवानीमा उहाँले दिल्ली, बम्बै घुमिसक्नुभएको थियो, लाहुरेसँग । यसैले उहाँको बोली वचनमा मिठास थियो, व्यवहारमा शिष्टता । गाउँका इष्टमित्रहरू इज्जत गर्दथे, सल्लाह लिन्थे अनि बाहिरबाट आएका जिज्ञासुहरू देउकीहरूको चालचलन, रीतिस्थिति इतिहास, फाग र लोकगीतका लागि भेट गर्थे । म धेरैजसो उहाँसँगै हुन्थेँ । उहाँसँगै सुत्थेँ । इजाले त मलाई जन्म मात्र दिनुभएथ्यो, आमा त मेरो उहाँ नै हुनुहुन्थ्यो । रातभरि बजैको काखमा लुटपुटिएर, उहाँको चाउरी परेको छालाका मुजाहरू खेलाउँदै म थुप्रै थुप्रै प्रश्नहरू गर्थेँ, बालसुलभ अनेकौँ जिज्ञासाहरू पोख्थेँ । उहाँ मलाई सहर, रेल, मोटरहरूको कथा सुनाउनुहुन्थ्यो अनि देउकीहरूको नारकीय जीवनको व्यथा बताउनुहुन्थ्यो । म राम्री त छँदै थिँए बजैको प्रभावले बाठी पनि हुँदै गएँ ।
दुई हजार चार सालमै यहाँ हाइस्कुल खुलिसकेको थियो । ठकुरीका छोराछोरी तथा अन्य केटाकेटीहरूसँगै मैले पनि काठको पाटीमा कमेराको मसीले क, ख लेख्न सुरु गरेँ । शिक्षा प्रारम्भ भयो । “देउकीको छोरीले पढेर के काम ? “देउकीकी छोरी देउकी नै बन्नुपर्छ ।” विरोधका गाइँगुइँहरू पनि सुनिए तर मेरी बजैका सामु कसैको सिप चलेन । मेरो स्कुल जान छुटेन । अहिले आफ्ना सँगीसाथीहरूलाई नियाल्छु, कति सुखी, कति सन्तुष्ट देखिन्छन् । ईष्र्या जागेर आउँछ, उनीहरूको जीवन देखेर । कुनै किसिमको महच्वाकाङ्क्षा, कुनै किसिमको अनुराग छैन । कन्था, खगालो लगाएर, रोटो र छाँछ४, आधा पेट खाएर पनि कति हँसिला, कति खुसिला लाग्छन् ? के शिक्षा नै दुःखको मूल त होइन ? शिक्षाले चेतना जगाउँछ । स्थितिबोध गराउँछ, स्थितिबोध भएपछि मानिसहरू असन्तुष्ट हुन्छन्, यही असन्तुष्टि नै विषाद, चिन्ता तथा दुःखको जरो हो । सोच्छु, जुन दिन मैल ‘क’ लेख्न सिकेँ, त्यही दिन बीजारोपण भयो दुःखको ।
म आमाको गर्भमा आउनुअघिबाटै समाजले मलाई देउकी बनाउने निर्णय गरिसकेथ्यो । देउकीकी छोरी देउकी नै बन्नुपर्ने नियम चलिसकेथ्यो । दसबर्से उमेरको त्यो घटना आज पनि आँखासामु छर्लङ्ग भै प्रस्टिन्छ । जुन दिन म राँगा, बोकाहरूजस्तै भगवतीमा बलि चढाइएथेँ । कति राम्रो हुन्थ्यो होला पञ्चबलिसँगै मलाई पनि नरबलि चढाइदिएको भए । यसरी जीवनमा यातना, वेदना, सास्ती त सहनुपर्ने थिएन ? नवरात्रिको बेला चारैतिर दसैँको उमङ्ग, उत्साह छाएको थियो । भगवतीमा प्रायः सधैँ नै दस बिस राँगाहरू ल्याइन्थे, काटिन्थे । बलि चढाइन्थ्यो निरीह पशुहरूको, जसको रक्तले सिँचेर भगवतीलाई प्रसन्न पार्ने प्रयास गरिन्थ्यो । एक दिन, सायद अष्टमीको साँझ ठुलो जाँत५ लागेको थियो । सैकडौँ राँगा बोकाहरू बलिका लागि बाँधिएका थिए । हज्जारौँ मानिसहरूको कोलाहलमा दमौँ, झ्याली, नरसिङ्गाको तुमुल ध्वनिले एउटा विभीषिका, एउटा भयावह वातावरण सिर्जिएको थियो देवीमन्दिरमा । बलिका लागि बाँधिएका पशुहरू संशयी, उत्तेजित भई यताउता हेरिरहेका थिए । मलाई पनि बिहानदेखि नै उपवास राखिएको थियो । नुहाई धुवाई नयाँ घाँघरो र चोली लगाएर, हामी सबै जाँत हेर्न गएका थियौँ भगवतीमन्दिरमा । मानिसहरूको घुँइचो थियो । पण्डितहरूको मन्त्रपाठ, घिउ, तिल, जौको हवनले उठेको धुवाँ, म निस्सासिएथेँ । त्यहाँका पुजारीले मलाई एक नयाँ फोलो६ दिँदै पानी ल्याउन अराएका थिए । देवन्वालो७बाट पानी ल्याई मन्दिरको परिक्रमा सकेर मलाई भगवतीको सामु बसालियो । मेरै छेउमा एक अधबैँसे साहूकारजस्तो मान्छे देवीको सामु पलेटी कसी हात अँजुली पारी बसेको थियो । अनि उसको अँजुलीमा पानी, तिल, कुश, फूलपातीका साथै मेरो औँला पनि समाउन लगाएका थिए पुजारीले । विभिन्न मन्त्रहरू पाठ गर्दै, ”ओम् नम् स्वाहा” को उच्चारण साथै उसले देवीमा सङ्कल्प दान गरेको थियो । भगवतीको तेल र टिका मेरो माथमा लगाउँदै, पुजारीले भनेका थिए “आजदेखि तँ देउकी भइस्, अब देवीकै चाकरीमा रही तैँले जीवन बिताउनुपर्छ ।”
म विधिवत् देउकी भएको थिएँ । हामी झगडा गर्दा, रिस उठ्दा भन्ने गर्दथ्यौँ “तेरो मुण्डामै देउताको तेल पडो८।” आज त्यही गाली ममा चरितार्थ भएको थियो जसलाई दस वर्षीया बालिकाको क्रन्दनले, रुवाइले कहाँ पखाल्न सक्दथ्यो र ! कहाँ बदल्न सक्दथ्यो र !
“कालोइ पारो कालोइ झुन्डो, काली गाईको दही छ,
जसोई लेख्यो भावनीले उसोइ, हुन्या रहिछ !”

पाँचसात दिनसम्म रुँदारुँदा मैले आफ्नो भाग्यलाई, आफ्नो नियतिलाई स्वीकारेको थिएँ । पछि थाहा पाएँ, त्यो साहूकारले देवीको भाकल पुरा गर्न इजालाई चार हजार दिएको रहेछ । म त पाल्तु पशुपक्षीहरूजस्तै बिक्री गरिएकी रहिछु । कस्तो हाम्रो जिन्दगी ? हामीहरूभन्दा त ती पशुहरू भाग्यमानी हुन्, जसलाई दुईचार चोटमै मोक्ष प्राप्ति हुन्छ । पीडाको अनुभूति एक क्षणका लागि मात्र हुन्छ अनि हुन्छ शान्ति, चिरनिन्द्रा । हामीहरूले त जिन्दगीभरि त्यति नै तड्पिरहनुपर्छ, बाँचुनजेल यातना सहिरहनुपर्छ, अचानामा तेर्सिएर ...
केही मेरो जिद्दीले केही बजैको रहरले मेरो स्कुल जान छुटेन । स्कुल गई नै रहेँ । इजाले अझै जवान नै हुनुहुन्थ्यो । अझै पनि कोही न कोही मानिसहरू बास खोज्दै आउने गर्दथे । यसरी पाहुना आएको दिन हाम्रो घरमा चहपहल हुन्थ्यो । माडा९ पाक्दथ्यो, मासु पाक्दथ्यो । रक्सी ल्याइन्थ्यो । मलाई यी सब मन पर्दैनथ्यो । घृणा लाग्दथ्यो, तिनीहरूको बीभत्स अनुहार देखेर, तिनीहरूको कुत्सित व्यवहार देखेर म रिसाउँथे, बाझ््दथेँ । तर युगौँदेखि चलिआएको चलन, हाम्रो पेसा, हाम्रो धर्म, नगरी हुन्छ र ? के खाने, कसरी खर्च चलाउने ? मेरो मुखमा बुजो लाग्दथ्यो । मलाई सम्झना छ, जबजब म कुनै कामले इजाको कोठामा पस्दथेंँ, त्यसबखत अनि दस, बिसको कमाइ थापेर बजैलाई दिँदा मैले इजाको आँखामा कुनै खुसी, कुनै उत्साह पाउन्नथेँ । हृदयभरि ग्लानि, विवशताको आँसु दबाएर बाहिर मेनका, उर्वशीको पाठ गर्नुपर्दथ्यो, इजाले ।
म कक्षा आठमा पुगिसकेकी थिएँ । घरधन्दा सगाउँदै, स्कुलको पाठ पनि चली नै रहको थियो । यौवनले चियाउन लागिसकेको थियो ममा । कामपिपासुहरूको अाँखाले मलाई बिझाउन थालिसकेका थिए । मौका पाए उनीहरू स्पर्शसुख बटुल्न खोज्दथे । मानिसहरू विभिन्न निहुँ गरी गरी पिठ्यँु सुमसुम्याउथे, गाला मुसार्दथे । तिनीहरूको पितृतुल्य व्यवहारमा पनि प्रेम, स्नेह होइन, कामका किराहरू, घृणित वासनाका अभिव्यक्तिहरू सगबगाइरहेका हुन्थे । म बुझ्ने भइसकेकी थिएँ । तिनीहरूको बाहिरी आवरण च्यातेर, भित्री तहसम्म चियाउन सक्ने भइसकेकी थिएँ । मलाई यी सबैदेखि वितृष्णा उठ्थ्यो, घृणा हुन्थ्यो । मेरो कक्षामा म एक्ली मात्र केटी भएकीले नजानिँदो त्रासले घेरिरहेको हुन्थ्यो मलाई । जब एक पटक एउटा केटाले मसँग जिस्कन चाह्यो, हातपात गर्न खोज्यो, अनि मलाई स्कुलदेखि नै मन म¥यो – मैले स्कुल जानै बन्द गरेँ । बजै ज्यादै बुढी भइसक्नुभएको थियो, घरधन्दाको काम इजाले मात्र समाल्न गारो परिरहेको थियो । मैले स्कुल छाडेकामा कसैलाई गुनासो भएन ।
स्याल पनि घोर्ले हुन्छ बैँसमा । म कोरली पोथीझैैँ राम्री हँुदै गएँ । भालेहरू पछ्याइरहन्थे मलाई, सिनोको वरिपरि गिद्ध झुम्मिएझंै । यी मानवगिद्धहरू जिउँदो मासु गिजोल्न रुँगिबसेका हुन्थे दाउ पर्खिएर । राजा गिद्ध थियो, पद्म बिष्ट देवीमन्दिरको पुजारीको छोरो । पढ्थ्यो स्कुलमा, खप्पिस थियो गीत हाल्न, मसँग निहुँ पारीपारी बोल्न खोज्दथ्यो । जिस्कन खोज्दथ्यो । हरघडी मलाई पछ््याइरहेको हुन्थ्यो ।
सुनगाडाको माथिल्लो गहुँबारीमा घाँस काट्न लाग्दा उसले गीत हालेको थियोे एक पटक –
“”हातलकी घाँस काट्नेई गउँ क्याकि भाँच्ची हई,
त्यो तेरो भरियो जोवन कईकीलाई साँच्ची हई !”
म रिसले डोको त्यहीँ बारीमै फ्याँकेर आएकी थिएँ । त्यपछि धेरै दिनसम्म उसको सामु पर्दैपरिनँ । भैँसी चराउन आयारको सैना, भट्टे खोला, बिप्पे ओडार, तातापानी अनि घरको सेरोफेरो, पानी लिन, पातालको न्वालो, ड््याडीका न्वालो, सबै ठाउँ सबै बेला पद्मको गीतले मलाई पछ््याइरहन्थ्यो, मेरो परिक्रमा गरिरहन्थ्यो, मलाई केन्द्रबिन्दु बनाएर । मलाई फकाउन ऊ गाउँथ्यो –
“ हिमान चुली पइरो पड्यो, हिम चुली रडेन
गल्ती भया माफ गरिनु रिसानु पडैन !”
पैसा भएका कामपिपासुहरू इजासँग मेरो मोलभाउ गर्दथे । कोपिला फक्रनुअघि नै उनीहरू पुष्पपत्रहरू, अमृत रसहरू पान गर्न खोज्दथे । यी सब कुराले मेरो मनमा एउटा छटपटी, एउटा उथलपुथल मच्चिइरहन्थ्यो भित्र, छातीभित्र, आत्मामा, कता कता, सम्पूर्ण शरीरभरि । स्कुल छुटेकामा पनि मलाई ठुलो पिर थियो, लाग्दथ्यो पढाइ छोडेर मैले झन् ठुलो भुल गरेँ । मेरो दिनचर्यामा बारी खन्नु, घाँस काट्नु, भैँसी हेर्नु, घरधन्दा गर्नु नै रह््यो, तर पढ्ने चाहना छुटेन । एउटा सानो कागतको टुक्रा फेला पार्दा पनि आद्योपान्त पढ्ने बानीले मेरो बुद्धि झन् झन् तिखारिँदै थियो, विचारमा परिपक्वता आइरहेको थियो । म सधँै सधैँ सुत्नुअघि डायरी लेख्ने गर्दथेँ, जसले मेरो लेखाइ पनि राम्रो हुँदै गएको थियो ।
पद्म मलाई प्रेमको संसारमा डुलाउँदै भन्दथ्यो– “हिँड, भागौं, यो संसारदेखि टाढा, जहाँ तिमी र हामी बाहेक अरू कोही हुने छैन, एउटा बेग्लै संसार हुनेछ, एउटा सुन्दर संसार, जहाँ यहाँको जस्तो लुछाचुँडी, अत्याचार, बलात्कार हुने छैन । हुने छ केवल प्रेम, प्रेम दुई आत्माको मिलन मात्र ।”
बिस्तारै बिस्तारै उसप्रति मेरो आकर्षण बढिरहेको थियो । जहिले पनि उसको बोलीले, उसको गीत, उसको अनुहार मेरो आँखामा नाँचिरहन्थ्यो । मलाई लाग्थ्यो, म उसको प्रेमको ज्वालामा पिल्सिरहेकी छु ।
कति मुर्ख म ? एउटी देउकी भएर कत्रो सपना हेर्न लागेकी ? कत्रो महच्वाकाङ्क्षा सजाएकी ? मन्दिरकी दासी, देवीको सेवामा अर्पित, समर्पित । विलासी लोग्नेमानिसहरूको खेलौना, हाड र मासुको जीवित कठपुतली । मैले प्रेम गर्नु हुन्छ र ? मैले बिहा गर्नु हुन्छ र ? के देउकीको पनि आत्मा हुन्छ ? देउकीले पनि एउटी नारी भएर आफ्नो चोखो माया दिन सक्छे ? एउटाकी मात्र भएर रहन सक्छे ? हजारौँ, हजारौँ प्रश्नहरू तेर्सिन्थे मेरा सामु, मेरो अघिल्तिर, जसले मलाई बेचैन पार्दथ्यो । मलाई तातो बालुवाको भुमरीमा फ्याल्दथ्यो । म धेरै उग्र हुँदै गइरहेकी थिएँ । म झन्झन् झगडालु र झर्कौली भैरहेकी थिएँ । मेरा यिनै व्यवहारले इजाले मलाई पाहुनासँग सुत्न कर लगाउन सक्नुभएको थिएन, हिम्मत गर्न सक्नुभएको थिएन । केटाकेटी नै छ भनी मनलाई थामथुम पारिरहनुभएको थियो । जेसुकै भए तापनि एक न एक दिन मैले आफ्नो नियति, आफ्नो धर्म स्वीकार्नु पर्नेछ । म सोकेसमा सजाइएकी विलासिताकी वस्तु, मैले एक दिन बेचिनैपर्छ, दसैँकोे लागि पालिएको खसी मैले एक दिन काटिनैपर्छ । अनि यसै मानसिकतामा मैले निर्णय लिएँ, कुनै अपरिचित, घिनलाग्दो, दुर्गन्धित श्वासको रापमा झोसिनुअघि नै समर्पण गरिदिऊँ, आफूलाई आफ्नो हृदयसम्राट सामु । सुम्पिदिऊँ आफूलाई आफ्नो प्रियतमको बाहुलीमा । गोराको रमाइलो पर्वमा म द्यौडा हाल्दथेँ–
“बर पत्यामा घर लायो धौला पाँथरको !
केइ इज्जत रन्या हो कि देउकी पाँतरको ?”
पद्म उत्तर फिराउँथ्यो । हाम्रा उत्तरप्रतिउत्तरहरू सैकडौँ गलाले दोह¥याइरहेका हुन्थे, एकअर्काको हातमा हात राख्दै, गीतको बोलमा खुट्टाको ताल दिँदै हामी रात रातभर खेल लगाई बस्दथ्यौँ । जीवनका सुखदुःख, अत्याचार, कुरीतिहरूलाई गीतको रूपमा व्यक्त गर्दै हामी आफ्नो मनको बह पोख्ने गर्दथ्यौँ । हाम्रो खेल त्यो क्षेत्रमा सबैभन्दा राम्रो हुने गर्दथ्यो । हामी देहीमाडौँको जाँत जान्थ्यौँ, त्रिपुरासुन्दरीको जाँत जान्थ्यौँ, प्यानी, महारुद्र, शिवनाथ, सिद्धनाथ कुनै यस्तो ठाउँ रहेन, जहाँ हामी नपुगेका हौँ, हाम्रो गीत नगुञ्जिएको होस् । ऊ जाँतमा मेरो लागि चोली किनिदिन्थ्यो । मथुरावालाको मिठाई किनिदिन्थ्यो । नरिवल गोला किनिदिन्थ्यो । हाम्रो प्रेम हुर्कंदै गयो, झाँगिंदै गयो । हामी घिउ बेच्न जाने निहँुले झुलाघाट जान्थ्यौँ, पिथौरागढ जान्थ्यौँ । रनवन, गाउँसहर हाम्रो प्रेमको सुवासले मगमगाउन लाग्यो । हामी एकअर्कामा विलीन भयौँ । हुने खानेका छोराले देउकी राख्नु कुनै अनौठो कुरा थिएन, हाम्रो समाजमा तर म पद्मकी मात्र एकलौटी भएकीले डाहा गर्नेहरू थुप्रै निस्किए । रिस गरून्, डाहा गरून् मलाई के वास्ता ? पद्म मात्र नरिसाए पुग्दथ्यो मलाई ।
अनि मेरो सपनाको महल भत्काउँदै पद्मको बिहा भयो । सानो भूकम्प गयो मेरो हृदयमा । मैले यस्तै हुन्छ भनी स्विीकारिसकेकी थिएँ । देउकीको पनि बिहा हुन सक्छ र ? मलाई खास डिगाउन सकेन यो घटनाले ।
स्वास्नी ल्याएर पनि मप्रतिको आसक्ति, मप्रतिको चाहना उसमा कम भएन । झन्झन् म भनेपछि हुरुक्क हुन थाल्यो । हाम्रै घरमा ऊ धेरैजसो समय बिताउन लाग्यो । मलाई कहिलेकाहीँ लाग्दथ्यो, म कसैको भाग खोसिरहेकी छु, कसैको अधिकारको अपहरण गरिरहेकी छु । मलाई आफूप्रति, आफ्नो पेसाप्रति ग्लानि हुन्थ्यो । म उसदेखि टाढाटाढा हुने प्रयास गर्दथेँ । मेरो यस्तो उपेक्षाले गर्दा ऊ झन्झन् मलाई फकाउने, रिझाउने गर्दथ्यो । ऊ मलाई नयाँनयाँ कपडा दिएर, नयाँ नयाँ गहनाहरू बनाइदिएर भुलाउने प्रयास गर्दथ्यो । इजालाई यी सबै कुरा थाहा भए पनि केही बोल्नुहुन्नथ्यो । बरु उहाँ मलाई प्रोत्साहित गर्नुहुन्थ्यो । उसबाट प्राप्त भएका चिज खुसी खुसी राख्नुहुन्थ्यो । मलाई लाग्थ्यो पद्म ममाभन्दा बेसी खर्च इजाको लागि गर्ने गर्छ, उहाँको मुखमा बुजो लगाउन ।
जब पद्मले एक दिन तिन तोलाको नयाँ सुनको गलबन्दी दिँदै, हिँड न दिल्ली भागौँ भनेको थियो । मैले मानिनँ, मलाई लाग्यो ऊ स्वास्नीको गहना चोरेर मलाई खुसी तुल्याउन खोज्दछ । एउटी मजस्तै नारीको अवहेलना, अत्याचार । मलाई अपराधभावले पिरोल्थ्यो, पश्चाताप हुन्थ्यो ।
जेसुकै होस्, पद्मको सान्निध्यले मलाई पचासवटाको लुछाइबाट जोगाएको थियो । म आफूलाई भाग्यशाली ठान्दथेँ । मेरो सिनो लुछ्न नपाएका स्यालहरू मुर्मुरिएर बसेका थिए, मसँग डाहा गर्नेहरू स्यालको हुइयाँमा हुइयाँ मिलाउन तम्तयार भइरहन्थे ।
कात्तिक पुर्णे देवीको जाँत नजिक नजिक आइरहेथ्यो । प्रत्येक वर्षझैँ मेलाका लागि भारत पसेका लाहुरेहरू, कमाइ गर्न गएका देउकीहरू घर फर्किरहेका थिए । चारैतिर उल्लास छाएको थियो । पूजाको समय, मन्दिरको कामले म पनि व्यस्त रहन्थेँ । बिहानदेखि नै नुहाई धुवाई, मन्दिर लिप्नु, पानी ल्याउनु, फूलपातीको व्यवस्था गर्नु मेरै जिम्माको काम थियो । पूजाको एक दिन अगाडिदेखि नै चारैतिरका मानिसहरू ओइरिन लागेका थिए । ध्वजा, नेजा, पताकाहरूको फरफरमा दमौ, नगाडा, नरसिङ्गाको तालमा भगवतीको जयघोषले वरपरका डाँडाहरू नै गुञ्जायमान भएका थिए । मानिसहरूको भिडले चउरमा तिलसम्म राख्ने ठाउँ थिएन, लाग्थ्यो चउरभरि एउटा विशाल गलैँचा ओछ््याइएको छ, जसमा विभिन्न परिधानका असङ्ख्य नरनारीहरूको चित्रण गरिएको छ । एउटा उल्लास, एउटा हर्षोन्माद छाएको थियो मानिसहरूमा । जाँतको बेला जिम्वाल परिवारले मात्र मन्दिरको चउरको घोडा चढ्न पाउने पुरानो परम्परा थियो । ठकुरीहरू जाँतमा घोडा चढी कुदाउने गर्दथे । अन्य जातिका मानिसहरूले घोडा चउरको तलै राखी नाङ्गा खुट्टाले मैदानमा आउनु पर्दथ्यो । ठकुरीहरूलाई “जदौ” भनी ढोग दिनु पर्दथ्यो । यो चलनलाई बुढाहरूले धानी आए तापनि नयाँ पुस्ताले स्वीकार गर्न गारो मानिरहेको थियो । यसै सिलसिलामा रक्सीले टिल्ल परी लाहुरे रामसिंह नायकले घोडा कुदाएको थियो । चउरभरि, मन्दिरको प्राङ्गणमा ........
“परापूर्वकालदेखि चलिआएको रीति तोड्ने ? देउका भएर घोडा चढ्ने जाँतमा ? मान्यजनको अवज्ञा गर्ने ? बढेको, चढेको ? पल्टनको लाहुरे भएँ भन्दैमा त्यत्रो सान देखाउँछ ? यस्तालाई सजाय नदिई कहाँ हुन्छ र ? ठालू जिम्वाल परिवारहरू यो घटनाले क्षुब्ध भएका थिए । सोझा सिधा जनताहरू भगवतीले केही अनिष्ट गर्दछिन् भनी आशङ्कित भएका थिए । एउटा आगाको फिलुङ्गो सल्केको थियो । तनावको वातावरण सिर्जिएको थियो । यसमा केही घिउ थपियो सुनगाडाबाट देवीको चोलो निस्कने दिन । परम्परादेखि नै चोलोलाई अघिबाट नायकहरूले र पछाडिबाट भाटहरूले काँध दिई देवीको मन्दिरमा लग्ने गरिन्थ्यो । त्यस दिन पनि चकडोल१०मा पूजाको सरसामानहरूका साथै देवीको सुनको आसन, मुकुट, सुन जनै, चाँदीको अम्खोरा, छड, खुकुरी, खुँडा इत्यादि राखिए । धामीमा देवी सवार भइन् । धामी काँम्न थाल्यो । काँम्दै चकडोलमा उभियो । दुवै थरीले काँध दिई चकडोल उचाले । धामीको नजर जहाँ जहाँ पर्छ त्यस ठाउँको भलो हुन्छ भन्ने धारणा र परम्परा अनुसार भाटहरूले चकडोललाई आफ्नो गाउँ देखिने चालतिर पु¥याउन पछाडिबाट धकेल्न लागे । नायकहरूचाहिँ चकडोललाई आफ्नै गाउँबिचबाट लैजाने जुक्ति गर्न लागे । यो चलिआएको परम्परा थियो । धक्कामुक्का, तानातान चल्न लाग्यो । चकडोलका घण्टहरूले भयानक आवाज निकाल्न लागे । जोसिएका कण्ठस्वरहरूबाट निस्किएको जयनादले वातावरण नै थर्किन लाग्यो । चकडोल हुत्तिएर कहिले अगाडि कहिले पछाडि हुन लाग्यो । यसै धक्कमधक्कामा चकडोल हुत्तियो, सामानहरू हुर्रिए । धामी उछिट्टिएर एउटाको बुइ चढ्न पुग्यो । देवीका गहनागुरिया, सुन चाँदीका सामानहरू, भेटीका रुपियाँ पैसा सबै यताउता भए । केही सामानहरू फेला परे, केही लुकाइए, केही हराए । अनिष्टमा अनिष्ट थपियो ।
यी सबै घटनाहरूले गाउँमा उद्विग्नता छाएको थियो । आरोपप्रत्यारोप चलिरहेथ्यो । आगाको फिलुङ्गो शान्त हुन पाएको थिएन । स्वार्थी तच्वहरू पङ्खा हम्किरहेका थिए । अनि फेरि एउटा बतास चल्यो ‘प्यानीको जाँतमा पुजारीको छोराले जुवामा दस हजार हा¥यो, कहाँबाट त्यतिका पैसा ल्यायो उसले ? झुलाघाटमा आठ तोला सुन बेचेको’ हल्ला पनि चल्यो । देउकी र पद्मे मिलेर देवीको भण्डार रित्याइरहेका छन् । सार्वजनिक सम्पत्ति हिनामिना गरिरहेका छन् । डढेलो सल्क्यो, आगाका मुस्ला लप्लपाउन लागे । उजुरी प¥यो । थाना, अदालत, पञ्चायत, पुलिस, मुद्दा । मन्दिरको सम्पत्ति मासेको आरोपमा हामी चलान भयौँ । दुस्मनहरूले ताली बजाउने मौका पाए । कर्मचारीहरूले पैसा सोहोर्ने बहाना पाए । पुस्तौंदेखि बेथितिसँग राखिएको मन्दिरको सम्पत्ति, हामीहरू फस्यौँ, फसाइयौँ ।
“पुजारीका छोराले तलाई कति सुनचाँदी राख्न दिएको छ ? कहाँ– कहाँ राखेकी छेस् ? कस कसलाई दिएकी छेस् ?” हजार मुख, हजार प्रश्न । सबैको एउटै चाहना धन, काँचो मासु । जहाँ जाऊँ उही अनुहार । उही आँखा । यो लुछाचुँडीमा केही बचेन । गरगहना, धनसम्पत्ति । आश्चर्य लाग्छ यो ज्यान मात्र रह्यो कसरी ? बाँच्यो कसरी ? हुरुक्क भई किन निस्कन सकेन ?
जब देउताको सम्पत्ति मासेको आरोपमा पद्मे जेल प¥यो, मेरो रहे, बचेको एउटा सहारा पनि टुट्यो । म त जिउँदो सिनो भएँ । मासु लुछ्ने काग, गिद्धहरूलाई हात हल्लाएर धपाउने ताकत पनि शेष बचेन ममा । लुछ्नु लुछे, नोच्नु नोचे । मेरो क्रन्दन, मेरो हारगुहार सुन्ने कसले ? पानीमा बसेर कसले गोहीसँग दुस्मनी गर्न सक्छ ? शुभेच्छुहरू पनि मूक थिए । म त न्वालो थिएँ मैलौलीको ? जसलाई पानीको तृष्णा जाग्यो, आयो पानी पियो गयो । अनेकौँ अनेकौँ लोटाहरू, गाग्रीहरू, बाल्टिनहरू चोबलिए । कतिको याद गरूँ ? कतिको सम्झना गरूँ ? कालीको बगरमा भएका ढुङ्गाहरूभन्दा बढी यो छातीमा घाउहरू लागेका छन् । कसलाई देखाऊँ ? कोसँग पोखूँ ?
एक पटक एक ‘भद्र’ व्यक्ति रक्सीले मत्त भई मध्यरातमा ढोकामा लात हान्न आइपुग्यो । नाइँ भनूँ ? सुतेको बहाना गरूँ ? भोलि झन् ठुलो आपत् आउन सक्छ, भोलि झन् बढी यस्ता भद्रहरूको थिचाइमा पिसिनु पर्छ । लाचार मैले स्वागत गरेँ बगरको ढुङ्गाझैँ लम्पसार परेर । तपाईंं त्यो ढुङ्गामा बस्नुहोस्, सुत्नुहोस्, थुक्नुहोस् चाहे पूजा नै गर्नुहोस् । ढुङ्गाले केही प्रतिकार गर्छ र ? म पनि ढुङ्गा थिएँ, तर ममा चेतना शेष थियो । स्वाभिमान शेष थियो । उसले गिजोल्नु गिजोल्यो, लुछ्नु लुछ्यो, रातभरि । जब ऊ सबैतिरबाट तृप्त भयो, जाने बेला आफ्नो खल्तीमा हात हाल्दै मेरो रातभरिको मोल ति¥यो, मेरो शरीरको मोल, मेरो आत्माको मोल दियो, उसले एउटा चुरोट, मात्र एक खिल्ली चुरोट । म चुरोट पिउन्नथेँ । धूमपानको लत थिएन । तापनि खुसी खुसी स्वीकारेँ, सँगीको रूपमा, साथीको रूपमा । एउटा चुरोट र मेरो जीवनमा कत्तिको समानता ? कत्तिको साम्य थियो ? शनैः शनैः जल्दै जानु ; अरूलाई तृप्ति दिँदै आफ्नो मृत्यु निम्त्याउँदै जानु ? आह, चुरोट ? मेरो जीवन एउटा चुरोटभन्दा बढी थिएन ? मेरो मोल एउटा चुरोटभन्दा ज्यादा थिएन ? मेरो जीवन– एउटा चुरोट थियो ठुटिँदै गएको । मेरो जीवन – एउटा ढुङ्गा थियो, बगरमा मिल्किएको ।
बाहिरबाट पनि थुप्रै मानिसहरू आउने गर्दथ,े खास गरेर कर्मचारीहरू । कोही निरीक्षण गर्न, कोही तालिमका लागि उम्मेदवार छनौंट गर्न, कोही ऋण लगानी गर्न, कोही ऋण असुली गर्न । कत्तिकत्ति निहँु हुन्थ्यो सम्भाव्यता अध्ययन, तथ्याङ्क सङ्कलन । सबैको चाहना हुन्थ्यो सकेसम्म थोरै पैसा खर्चेर, पाएसम्मको मोजमस्ती । तिनीहरूलाई के फिक्री ? के सुर्ता ? उनीहरूको अङ्कशायिनी बनेर, हाँसी हाँसी सुतेकी नारीको छातीमा कति लाभाहरू उम्लिएरहेका छन् ? उनीहरूलाई माडा र लौन बनाएर खुवाउने देउकीहरू के खाएर जीवन निर्वाह गरिरहेका छन् ? हाम्रो इतिहास खोतलिन्थ्यो, हाम्रो कथा, व्यथा, समस्याहरूको, निवेदन प्रतिवेदन तयार पारिन्थ्यो । कानुन बनाइन्थ्यो ‘देउकी चढाउनु हुन्न, देउकीको बिहा गराइ दिनुपर्छ । यो कोढ हो समाजको ।” दिनभरि आदर्शको कुरा छाँटेर राति ब्वाँसो भएर घुम्दथे यिनीहरू । यी पाल्तु कुकुरजस्ता देखिने ब्वाँसाहरूलाई कसरी चिन्ने ? कसरी पहिचान्ने ?
.... यो वैतरणीमा साथदिने, सहारादिने पद्म पनि झ्यालखानामै म¥यो भत्रे खबर पाएपछि त आशाको एउटा त्यान्द्रो पनि बाँकी रहेको छैन । साँच्ची, जीवनको गोरेटो ज्यादै विकट र दुरूह हुनेरहेछ । यति छोटो समयमा धेरै अनकन्टार बाटाहरू हिँडिएछ । धेरै धेरै हन्डर, ठक्करहरूले यो छाती छिया छिया, विदीर्ण भइसकेको छ । बाँकी बाटो छिचोल्ने सामर्थ अब रहेन यो ज्यानमा । यत्रा व्याघात, विपत्ति र जीवनको विप्रलब्धले अब त यो कायाक्लेशबाट उनमुक्ति चाहिरहेछ, नाटकको पटाक्षेप चाहिरहेछ, आज यो देह । समाजका विकार, विकृति र फोहरहरू बोकेर अब यो नदी ज्यादै मैलो र घिनलाग्दो भइसकेको छ । एउटा निर्मल, स्वच्छन्द नदी, गन्दा नाली भएको छ । असङ्ख्य असङ्ख्य विनाशक जीवाणु र विषाणुद्वारा क्षत विक्षत पारिएको छ । एउटै चाहना रहेको छ अब यो यात्रालाई एउटा बिसौनी, एउटा विश्रान्तिको .....
....तर होइन, हत्केलाका सबै औँलाहरू कहाँ बराबर हुँदा रहेछन् र ? सबै एकै कहाँ हुन्छन् ? समाजमा कोही इमानदार, आदर्श तथा हितैषी पनि हुँदा रहेछन् । सबै लोग्नेमानिसलाई एकै जस्तो ठान्ने बानी परिसकेकी मैले एउटा दाजु जस्तै माया गर्ने कर्मचारी पनि पाएँ । जसको सही मार्गदर्शन र सिफारिसले मैले तालिममा भाग लिने मौका पाएँ । पहिलो पटक आफ्नो देशको केही भाग घुम्ने मौका पाइयो, महेन्द्रनगर, धनगढी, नेपालगन्ज, तानसेन, पाल्पा । आँखाका पर्दाहरू खुले । नर्मल तालिमको दस महिना कसरी बित्यो, त्यो थाहै पाइएन । “देउकीले मन्दिर छाडेर जानुहुन्न, अर्को पेसामा लाग्नुहुन्न, देवी रिसाउँछिन्, कुभलो गर्छिन” भन्ने अन्धविश्वासलाई तोडेर म आज एक तालिमप्राप्त शिक्षिका भएर फर्केकी छु । आज नयाँ जोस, नयाँ उमङ्गले म आफ्नो नयाँ जीवन थालनी गर्न व्यस्त छु । मेरो पेटमा गर्भ पनि छ । म भगवान्सँग प्रार्थना गर्छु, छोरी नै जन्मोस् । त्यो बिनाबाउकी छोरी भए तापनि मजस्ती देउकी हुने छैन । मैलेजस्तो अत्याचार, लुछाचुँडी भोग्नुपर्ने छैन, मैले जस्तो विवशतामा पिसिनु पर्ने छैन । उसमा नयाँ साहस, नयाँ विश्वास हुनेछ अनि त्यसलाई सहारा दिने हजारौं नयाँ हातहरू हुनेछन् ।
(साभार “देउकी” गरिमा, वर्ष ४, अङ्क ६, पूर्णाङ्क ४२, जेठ २०४३ र पुनः प्रकाशितः गरिमा, कथा विशेषाङ्क वर्ष १८, अङ्क ५, पूर्णाङ्क २०९, वैशाख २०५७)

शब्दार्थः
१. झन्डा, २.आमा, ३.घुँडाभन्दा तल झारेर लगाइने फरिया, ४.मोही, ५. जात्रा, ६.गाग्रो, ७.कुँवा, ८. तँलाइँ भगवानको श्राप लागोस् । ९.रोटी जस्तो पीठो र घिउबाट बनाइएको विशेष परिकार, १०.रथ÷देउताको आसन ।

राशि पाण्डेका कथाहरू

कथाक्रम
१ देउकी
२ कुवा हुँ म सार्वजनिक
३ पिपलचोक
४ परकीया
५ सुरनया
६ चर्या तिन आमाका
७ अङ्गारिका
८ गोमती बदिनी
९ मृत्यु पर्खिरहेछ
१० पोइल गएकी स्वास्नी
११ बलात्कारी वटवृक्ष
१२ सिङ्गथाजी
१३ पुतली नारी
१४ दिल्लीकट लाहुरे
१५ ऐँजेरु
१६ द्यो मैजू
१७ सभानाको आगो
१८ स्वराल्ली बजै
१९ निकाह
२० एलिजा मिस
२१ पतिया